आयो माघे झरी : त्रिलोचन आचार्य (काँठे लोक भाकामा आधारित)

आयो माघे झरी : त्रिलोचन आचार्य (काँठे लोक भाकामा आधारित)
कपन अनलाइन
काठमाण्डौ ,माघ २९।

१.
लाग्यो माघ मैन्हा, डस्ना सिरक छैन, आयो चिसो अत्याउने
किन्ने पैसो छैन, त्यसै पाउने हैन, होला कसले पत्याउने ?
आकाशको माथि, डुल्छ वादल ताँती, पानी पर्ला जस्तो छ
छोरा पुग्यो टाढा, चिन्ता लिँदै ज्यादा, भन्छ बालाई कस्तो छ ?

२.
बौलाएर आई, मेलम्चीले भाइ, गैह्री खेतै बगायो
गोठका गाई भैँसी पुरिए झन् कैयौँ मानिसकै ज्यान खायो
विदेश गएको छोरो, कोरोनाले त्यतै, थुनिएर मर्नु भो
घरको छानो छाउँथेँ, न मरे त आउँथेँ, भन्छ के पो गर्नु हो ?

३.
काठमाडौँका मान्छे, पानी लान्छौँ भन्थे, सुरुङ्गभित्रै हालेर
मेरो छोरा अनि, हिँड्यो लाहुरे बनी, पानी घट्टै फालेर
प्रकृतिको कहर, भयो खेतै बगर, आँसु मात्रै सस्तो भो
कन्तविजोग हेर्दै, बर्बर आँसु झार्दै, बाँच्नु पर्ला जस्तो भो ।

४.
हिमालको हावा, के को भन्थ्यो बाबा, सिधै गाला चड्काउँछ
यो दुःखको बास, नजानाले श्वास, अझै मुक्का पड्काउँछ
नाती नातिनीले, टिल्पिल् दाना झार्दा, छाती त्यसै उम्लन्छ
फुस्फुस हिउँ छरी, आयो माघे झरी, सहारा खै को दिन्छ ?

५.
सहयोग गर्छौँ भन्दै, कुद्थे फोटो खिच्दै, लौन ऐले कता छन् ?
सिरेटोले ताछी, डामी सक्यो छाती, पा¥यो चर्को यता झन्
भोट माग्न यता, घुम्थे पैले नेता, के हेर्थे र यस्तोमा –
बलिया बाङ्गा बाघलाई, बुढाखाडा माघलाई, पर्ने हुँ कि त्यस्तोमा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।