श्री ५ को वायु गुठीको नाममा भएको राज्य आतंक बन्द गर्न संघर्ष समितिको माग

श्री ५ को वायु गुठीको नाममा भएको राज्य आतंक बन्द गर्न संघर्ष समितिको माग

कपन अनलाइन
काठमाडौं, २२ माघ । श्री ५ को वायु गुठी समस्या समाधान सघंर्ष समिति धादिङ–गोरखाले धादिङ र गोरखा जिल्लाका करिब तीन हजार ५ सय घरधुरीका स्थानीयहरुको गुठी समस्या तत्काल समाधानका गर्न सरकारसमक्ष माग गरेको छ । समितिले ‘बा जग्गाधनी, छोरा मोही’, हाम्रो जग्गामाथिको अधिकार खोई’, ‘श्री ५ को वायु गुठीको नाममा भएको राज्य आंतक बन्द गर, सम्पत्तिमाथिको मौलिक हक कायम गर’ लगायतका नारा अघि सारेको छ ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रियामार्फत समितिले सरकारले तत्काल मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर समस्या समाधान गर्न आग्रह गरेको हो । साथै, समस्या समाधान नभए आफूहरु सरकारलाई नागरिकता बुझाउनसमेत पछि नपर्ने समितिले चेतावती दिएको छ ।
कार्यक्रममा बोल्दै गुठी संघर्ष समितिका संयोजक ईश्वरीबहादुर लम्सालले सरकारको दमन गर्ने नीतिको विरुद्धमा आफुहरु निरन्तर लागिरहने बताए । ‘जनताको स्वामित्वमा रहेको घर÷बारीलाई श्री ५ को वायु गुठी नापीबाट रैथानको पूर्जि दिएको छ । त्यस रैथानको पूर्जालाई पनि अन्धो सरकारले हचुवाको भरमा कुनै निकायमा नसोधेर मोही भनेको छ । यो कुरा हामीलाई मान्य हुनेछैन्,’ उनले भने ।
यस्तै, उनले जग्गाधनी बाबुको छोरा कसरी मोही हुन्छ ? भन्दै प्रश्न गरे । आफुहरुले निरन्तर रुपमा नापी विभाग र भूमीसुधार मन्त्रालयमा ज्ञापनपत्र बुझाएर समस्या सुनाएपनि सम्बन्धित् निकायले यसमा बेवास्ता गरेको गुनासो गरे ।
‘३५ सय घरधुरी यसबाट विचल्ली भएका छौं । अब त हामी परिआए नेपाल सरकारलाई नागरिकता बुझाउन पछि पर्दैनौं । साविक धादिङ जिल्ला ज्यामरुङ गाविस हाल निलकण्ठ, साविक धादिङ जिल्ला कटुञ्जे गाविस हाल नेत्रावती डोबजोङ, साविक गोरखा थुमी गाविस हाल आरुघाट गाउँपालिकाको विभिन्न क्षेत्रमा भएको जग्गा पुस्तौदेखि भोगचलन गर्दै आएको र नापी हुँदाका बखतदेखि नै रैथान पुर्जा जग्गाधनी रहेको थियो । तर, अहिले राज्यले हचुवाको भरमा हामीलाई मोही बनाउन खोजिएको छ’ –उनले भने ।
साथै, आफुहरुले नयाँ जग्गा नमागेको पनि उनले स्पष्ट पारे । उनले भने,‘२०७२ सालभन्दा पहिला हाम्रो जुन हैसियत थियो, त्यही रुपमा फर्काइदिनुहोस । कुनैपनि नीतिगत निर्णयबिना, कानुनी आधारबिना हामीलाई मोही बनाइएको छ ।’
त्यस्तै, पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलमान पाख्रिनले आफुले आफ्नो ठाउँबाट उक्त समस्याको समाधान लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, उनले जनताको सम्पत्ति उसको स्वामित्व छ अथवा छैन् भन्ने कुरामा सरकारले ध्यान दिन जरुरी रहेको पनि धारणा राखे ।
एनले भने,‘जनताले भोगचलन गरिरहेको छ । तर, श्री ५ सरकारको वायु गुठी लेखिनु विडम्बना हो । यसको समाधान गर्न सबै पार्टीको साथ र सहयोग हुनुपर्छ ।’
रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले आफूहरुले समितिमार्फत अघि सारेका मागप्रति राज्य गम्भीर हुनुपर्नेमा जोड दिए । उनले भने,‘मेरो बुवाको जग्गा आज मैले बेच्न नपाउने ? मेरो लालपुर्जा मैले भिख माग्नुपर्ने ?’
साथै, उनले नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलमान पाख्रिनलाई जनताप्रति उत्तरदायी आग्रह गरेका छन् । उनले वडा अध्यक्ष तिलक थापाले आफूहरुको समस्या समाधान नभए चुनाव बहिष्कार गर्छौं भनेकोप्रति पनि आपत्ति जनाए ।
उक्त समस्या समाधान गर्नको लागि सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्नेमा धमलाको जोड थियो । उनले भने,‘मेरो बुवाले दुःख गरेर तीनपटक किनेको जमिन आज मेरो हुन सकेन । यो कस्तो अवस्था आयो ? म यही मञ्चबाट नेताहरुलाई सामूहिक रुपमा समस्या समाधान गर्न गम्भीर बनिदिनुहोस भनेर आग्रह गर्न चाहन्छु ।’
यस्तै, उनले भुमिसुधार मन्त्रीले उक्त समस्याबारे गम्भीर भए एक घण्टामा समस्या समाधान हुने पनि दाबी गरे । ‘जबसम्म मैले मेरो जग्गाको लालपुर्जा पाउँदिन्, तबसम्म आन्दोलन जारी हुन्छ । धादिङवासी पीडामा छन्’–उनले भने ।
त्यस्तै, कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा राप्रपाका युवा नेता पर्शुराम तामाङले आफू समितिले अघि सारेका मागप्रति गम्भीर रहेको बताउँदै समस्या समाधानको लागि सहयोग गर्ने बताए । उनले धादिङ् जिल्लाको राप्रपा पार्टीको तर्फबाट उक्त समस्याको समाधान गर्न आफुहरु नेतृत्व गर्न पनि तयार रहेको बताए ।
कार्यक्रममा बोल्दै गुठी संस्थानका पूर्व अध्यक्ष लक्ष्मण ज्ञवालीले उक्त समस्या समाधानको लागि आफुले धेरै प्रयत्न गरेको स्मरण गर्दै गुठी ऐनलाई परिमार्जन नगरेसम्म अहिलेको समस्या समाधान नहुने धारणा राखे । यस्तै, उनले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रस्तुत गरिएका गुठी विधेयक पास भएको भए आजको समस्याको समाधान भैसक्ने थियो भन्ने पनि धारणा राखे ।
‘सरकारले क्याविनेटबाट निर्णय नगरेसम्म यो समस्या समाधान हुँदैन् । अथवा विधेयक अथवा अध्यादेश ल्याएमात्र समाधान हुनसक्छ’–उनले भने । साथै, उनले उक्त समस्यालाई अब नयाँ ढंगबाट सम्वोधन गर्न जरुरी रहेको बताए ।
निलकण्ठ–११ का वडा अध्यक्ष तिलक थापाले आफुहरु गुठी संस्था, नापी बिभाग र भुमिसुधार मन्त्रालय बारम्बार धाएपनि सबैबाट झुटो आश्वासनबाहेक केही पनि नपाएको गुनासो गरे । यस्तै, उनले समस्याको समाधान नभए आफुहरु स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने कठोर निर्णयसम्म पुग्नुपर्ने धारणा राखे ।
समितिका सदस्य नबराज लम्सालले पञ्चायतकालमा समेत जग्गाका मालिक भएका जनता आज मोही हुनुपर्ने अवस्था आउनु दुःखद् रहेको बताए । उनले समस्याको समाधान गर्न मन्त्रीपरिषदमा लगेर निर्णय गराउनुपर्ने धारणा व्यक्त गरे ।
नेत्रावती डोबजोङ गाउँपालीकाका अध्यक्ष दुर्गानारायण शाक्यले गाउँपालिको तर्फबाट आफुले जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे । साथै, उनले पार्टीगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर यसको समाधान गर्न सबैजना लाग्नुपर्ने धारणा राखे ।

तपाइँको प्रतिक्रिया ।