भक्तपुर सुर्यविनायक नगरपालिका क्षेत्रका इँट्टा उद्योगमा बालश्रम प्रयोग विरुद्ध अनुगमन

कपन अनलाइन

काठमाण्डौ ,माघ १६।

भक्तपुर सुर्यविनायक नगरपालिका क्षेत्रमा रहेका ईटा उद्योगहरुमा बालश्रम प्रयोगको विरुद्धमा सुर्यविनायक नगरपालिका र बाल विकास समाजले संयुक्त रुपमा अनुगमन गरेका छन । बाल विकास समाजले सुर्यविनायक नगरक्षेत्रमा रहेका इँट्टा उद्योग तथा गँलैचा कारखानामा प्रयोग भएको बालश्रम अन्त्यका लागि विश्व शिक्षाको साझेदारीमा विभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको छ ।

इँट्टाउद्योगहरुमा गरिएको संयुक्त अनुगमनका क्रममा बालश्रम प्रयोग भएको पाइएको थियो । सुर्यविनायक नगरपालिका वडा नंबर १० को आर के अजिमा ईँटा उद्योग, ओके श्री कादम्बेनी ईँटा उद्योग, महेश्वरी इँटा उद्योग, मैत्री हनुमान इँटा उद्योग, श्री कृष्ण इँटा उद्योग त्यसैगरी वडा नंबर ९ मा रहेको महेश्वरी शक्ती चिम्नी इँटा उद्योग, जय महेश्वरी नन्दकिशोरी इँटा उद्योग, जिजे इँटा उद्योग, मैत्री हनुमान इँटा उद्योग, वडा नंबर ८ मा रहेको नवदुर्गा इँटा उद्योग वि.एम. इँटा उद्योग र वडा नंबर ४ मा रहेको दक्षिण वाराही इँटा उद्योगमा स्थलगत अनुगमन गरिएको हो । सुर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेतको अगुवाइमा गरिएको अनुगमनमा वडा नंबर १० का वडा अध्यक्ष शिवराम राउत, वडा नंबर ८ का वडा अध्यक्ष किरण थापा, नगरस्तरीय बालअधिकार समितिका संयोजक तथा कार्यपालिका सदस्य दिपक विसुकें, कार्यपालिका सदस्य अम्बिका न्यौपाने बालअधिकार समिति सदस्य श्रीकृष्ण थापा, आस्था बस्नेत, महिला बालबालिका तथा जेष्ठ नागारिक शाखा प्रमुख रन्जना पोखरेल बाल विकास समाजका अध्यक्ष सुवास गौतम विश्व शिक्षाका प्रतिनिधि तथा अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो । अनुगमनको क्रममा बालश्रम प्रयोग भइरहेको देखिएपछि सम्बन्धित इँटा उद्योगका रोजगारदाता तथा नाइकेहरुलाई बालश्रम तत्काल रोक्नका लागि उपप्रमुख जुना बस्नेतले निर्देशन दिएकि थिइन्  ।

अनुगमनका क्रममा बालबालिकाहरु काम गरिरहेको देखिएको हुनाले उनीहरुको समस्याका बारेमा प्रत्यक्ष रुपमा उपप्रमुख तथा नगरस्तरीय बालअधिकार समितिका संयोजक एवं सदस्यहरुले बालबालिकाहरुसँग कुराकानी गरेका थिए ।

कुराकानीको क्रममा बालबालिकाहरुले अभिभावकसँग इँटा उद्योगमा आएको बताए भने विद्यालय भर्ना गर्नका लागि पनि आर्थिक समस्याका कारण भर्ना हुन नसकेको बताए । अनुगमनका क्रममा नगरउपप्रमुख जुना बस्नेतले यो अनुगमन बालश्रम प्रयोगको विरुद्धमा महत्वपूर्ण अनुगमन भएको र अनुगमन गर्ने क्रममा केही इँटा उद्योगहरुमा बालश्रम प्रयोग भएको देखिएको हुनाले यसको समाधानका लागि सबैपक्षसँग वृहत छलफल गरिने र तत्कालै नगरपालिकाको तर्फबाट गर्न सकिने काम गर्नलाई कुनै कसर बाकी नराखिने कुरासमेत बताएकी थिइन । बालश्रम अन्त्यका लागि बाल विकास समाजले निरन्तर सरकारको सहयोगी भएर काम गरिरहेकोले स्थानीय सरकारसँग संस्था सधै सँगै हुने प्रतिवद्धता संस्थाका अध्यक्ष सुवास गौतमको थियो ।

जोखिमयुक्त श्रमको क्षेत्रमा पर्ने इँटा उद्योगमा निरन्तर रुपमा बालश्रम प्रयोग भइरहनु बालश्रम प्रयोग अन्त्यका लागि राज्यलाई थप चुनौति भएको देखिन्छ ।

तपाइँको प्रतिक्रिया ।