कांग्रेस गठबन्धनलाई साथमै लिएर चुनावमा जाने मनस्थितिमा छ : दीपक खड्का

कपन अनलाइन

काठमाण्डौ ,माघ १६।

नेपाली कांग्रेसका नेता दीपक खड्काले आफ्नो पार्टीले अहिले रहेको पाँच दलीय गठबन्धनलाई साथमै लिएर चुनावमा जाने सम्भावना रहेको बताएका छन् । उनले कांग्रेस चुनावको पक्षमा रहेको भन्दै चुनाव हुँदैन् कि भन्ने आशंका नपाल्न पनि आग्रह गरेका छन् ।
आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,“नेपाली कांग्रेसमात्रै होईन, संसद्भित्र रहेका संसद्वादी सबै राजनीतिक दलहरु आवद्यिक निर्वाचनमा विश्वास गर्नुहुन्छ । संविधानलाई जोगाउनको निम्ति र बर्करार राख्नको लागि आवद्यिक निर्वाचन संसद्को निम्ति मुटु नै हो भनेपनि हुन्छ । हामीले विगतमा लामो समय निर्वाचन नभएको तितो अनुभव गरेका छौं । आवद्यिक निर्वाचन र बहुवादमा विश्वास गर्ने, लोकतन्त्रमा विश्वास गर्ने पार्टीहरु नै संसद्मा भएकोले यसमा तलमाथि हुने कुरा रहेन । खाली प्रक्रियामा प्रवेश गर्दा हामीले ०७४ सालमा चरण–चरणमा निर्वाचन सम्पन्न गर्यौं । त्यसका तिथिमितिको बारेमा छलफल भएको हो । सरकारले सहमतिकै आधारमा जेठमा निर्वाचन प्रक्रिया सुरु गर्नेगरि काम गर्छ ।”
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले निर्वाचनसम्बन्धी अब कुनैपनि किसिमको शंका तथा आशंका नगर्न स्पष्ट पारेका छन् । उनले भने–“अब निर्वाचनसम्बन्धी आशंका गरिरहनुपर्दैन् । र, गर्नुहुँदैन् । यहाँ नेपाली कांग्रेसभित्रको आन्तरिक विषयमा पनि कुरा उठ्यो , कांग्रेसले सबै अंग र साथीहरुलई मिलाएर नै अघि बढ्छ । हाम्रो पार्टीमा विवाद, मतभेद र छलफल हुन्छ । अरु पार्टीको भन्दा बढि नै छलफल हुन्छ । पार्टीले निर्णय गरेपछि त्यही नै अन्तिम धारणा हो । यसलाई नै पार्टी फुटिहाल्ला कि विद्रोह होला कि भन्ने आशंका नगरौं ।”
नेता खड्काले निर्वाचनमा पाँच दलीय गठबन्धन सँगै जाने सम्भावना आफूले देखेको सुनाए । उनले पार्टीका नेताहरुको बीचमा पनि निर्वाचनमा पाँच दलीय गठबन्धन सँगै जाने वा नजाने भन्नेबारे आ आफ्नो मत रहेको उल्लेख गरे । उनले भने,“यसबारेमा हाम्रो नेताहरुको बीचमा पनि आफ्नै मत र अभिमत छ । होईन, अब पाँच दलीय गठबन्धन निर्वाचनमा सँगै जानुहुन्न, कांग्रेसले एकलै निर्वाचनमा भाग लिनुपर्छ भन्ने पनि मत छ। अर्कोतर्फ, अहिलेको गठबन्धनलाई सँगै साथमा पनि लिएर निर्वाचनमा जानुपर्छ भन्ने पनि अभिमत छ । अहिले कांग्रेस गठबन्धनलाई सँगै साथमा लिएर हिँड्ने मनस्थितिमा छ । तर, यो नै अन्तिम कुरा होईन । केन्द्रयि कमिटीले निर्णय गरेपछि हमाी एकमतले हिँड्छौं । अहिलेसम्मको सोच र छलफल यसमै केन्द्रित छ । कांग्रेसले गठबन्धनमा रहेका दलहरुलाई सँगै नै निर्वाचनमा लएर जाने सोच बनाएको छ ।”
उनले निर्वाचन गर्नेबारे सहमति भएपछि अब ऐन तथा कानून संशोधन गर्ने कुरा अहिले गर्न नहुने धारणा राखे । उनले भने,“निर्वाचनबारे सहमति भएको छ, यस्तो अवस्थामा अहिले चल्न थाल्नुहुन्न, धेरै कुरा मिलाउनुपर्ने । संविधान र ऐनको बीचमा धेरै मिलाउनुपर्नेछ । निर्वाचित भएर आएपछि बरु के के संशोधन गर्ने हो ? प्रयोगबाट प्राप्त कुराबाट साभाmा धारणा बनाएर अघि बढ्नुपर्छ । ईलेक्शनपछि समिति बनाएर हामी यो काम गर्छौं । यसबारेमा सहमति हुन्छ ।”
उनले आगामी निर्वाचनमा कांग्रेस एक ढिक्का भएर चुनावी मैदानमा उत्रिने पनि सुनाए । उनले पार्टीमा कुनै विद्रोह नहुने पनि विश्वास दिलाए । उनले भने,“कुनै पनि घट्ना हुनेतर्फ कांग्रेस उन्मुख छैन् । संसद् खुलाउनको लागि पहल भैरहेको छ । यसको लागि प्रमुख प्रतिपक्षी दल एमालेले गम्भीर भूमिका खेल्नुपर्छ । अब निर्वाचनमा जनुछ, धेरै बाँकी रहेका मुद्दा समाधान गर्नुछ । जनताका धेरै विषय छन् । तिनको पनि निराकरण संसद्बाट नै गर्नुपर्छ । यसको लागि एमालेले जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्छ । १४ जना सांसद्को कारबाहीबारे एमालेको गुनासो छ । हामी बहुवाद, बहुदलीय व्यवस्थामा विश्वास गर्ने भएको कारण बहुदलको अवधारणालाई विश्वास गरेर एमालेले उहाँहरुको स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ । उहाँहरुले पार्टी निर्माण गरिसक्नुभएको छ। जनताको निकास दिने थलो नै संसद् हो । २६ गते एमालेका सांसदहरु उपस्थित् भएर जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्छ ।”
नेता खड्काले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले राम्रो काम गरेको दाबी गरे । उनले भने,“लामो समय देउवाले सरकार चलाउन पाउने अवसर पाउनुभएन । कहिले द्धन्द्ध समाधान गर्ने कुरा, कहिले निर्वाचन गराउने काम उहाँको सरकारको पालामा भएका छन्, ठूला ठूला कल्पना गरेजस्तो आज रेल, भोलि पानीजहाज, घरघरमा पाईप पुर्याउने कुरा गर्नुभएन । तर उहाँले प्रक्रियागत काम गर्नुभएको छ । खुल्ला अर्थतन्त्रको कुरा, उदारीकरणको कुरा कांग्रेसकै पालामा भएको हो । टेलिकम, हवाई, यातायात, शिक्षा, सञ्चार सबै क्षेत्रमा कांग्रेस नेतृत्वमा हुँदै काम भएको छ। विकास निर्माणको अपेक्षा राख्नुभएको हो भने र गतिशिलता खोजेको हो भने त्यो अहिले भएको छैन् । तर, अहिले सरकार शून्यतामा छैन् । प्रक्रियागत काम भैरहेका छन् ।”

तपाइँको प्रतिक्रिया ।