बलरामका कुरा : मुक्तिनाथ शर्मा (कविता )

बलरामका कुरा : मुक्तिनाथ शर्मा (कविता )

कपन अनलाइन

काठमाण्डौ ,माघ १५।

कुन्तीका पुत्र धर्मात्मा महाराजा युधिष्ठिर
जुवाको जालमा फस्दा मिल्यो संकष्ट आखिर
श्रीसम्पत्ती सबै हारे, हारे भाइहरू पनि
द्रौपदी पनि हारिइन् बनबास भयो अनि ।।१।।

धनञ्जय तपस्यामा रतभै स्वर्गमा पुगे
बाँकि पाण्डव तीर्थाटन् गर्दै तीर्थहरू घुमे
नाना क्षेत्र चाहारेर प्रभास क्षेत्रमा पुगे
बलराम तथा कृष्ण बृष्णीवीर त्यहि पुगे ।।२।।

बल्कल बस्त्र लाएका जटाधारी छदै थिए
खानपिन नमिल्नाले दुव्ला र पातला थिए
खाली जमीनमा बस्ने पाउपोस नलाउने
कडा कष्ट सहेका ती हेर्नै मन लागने ।।३।।

दुःखी पाण्डवको हाल देखेर बलराम जी
श्रीकृष्णतिर हेरेर भन्नथाले सरासरी
भीमार्जुन सहदेव नकुल द्रौपदी सबै
धर्ममा रत हुन्छन् यि तापनि कष्टमा सधै ।।४।।

उता दुर्योधन आदि पापीले देश हाक्दछन्
सदा मोज मजामा छन् अधर्म प्राय गर्दछन्
तिनैका जाल झेलैले पापले यति सम्म भो
सहने कहिले सम्म यस्को निर्णय चाहियो ।।५।।

भीष्म द्रोण कृपाचार्य आदि धार्मिक लाग्दथे
सत्य, धर्म, सदाचार सिद्धान्त पनि छाँट्दथे
धृतराष्ट्र महाराजा कपटी व्यवहारमा
यि सबै सहभागी हन् जस्तै लाग्छ यथार्थमा ।।६।।

अव यो सहनै हुन्न समाज उठ्नु पर्दछ
अनीति नीतिमा ढाल्न सबै नै जुट्नुपर्दछ
बलरामजीका यस्ता कुरा सात्यकिले सुने
उन्का पनि कुरा यस्तै थिए कृष्णजीमा पुगे ।।७।।

(महाभारतमा आधारित)

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।