बिपी कोइरालाका विविध आयामलाई समेटेर वृत्तचित्र तयार गरिदै
कपन अनलाइन
काठमाडौं, माघ १२। बिपी सङ्ग्राहलय समितिले नेपाली कांग्रेसका संस्थापक नेता एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको विविध आयामलाई समेटेर निर्माण गर्न लागेको वृत्तचित्रको लागि नेपाल तथा छिमेकि मुलुक भारतको बिभिन्न स्थानमा छायांकनका गरिएको छ । बिपी कोइराला निर्वासनमा रहँदाका महत्वपूर्ण पक्ष स्थान र कांग्रेसको जन्मस्थल मितिबाट शुरु भई सुन्दरीजल जेल सङ्ग्राहलयमा रुपान्तरण भएसम्मका घटना परिघटनालाई विवेचना एवम् समीक्षा गरेर वृत्तचित्र निर्माण गर्न लागेको सङ्ग्राहलयका अध्यक्ष परशुराम पोखरेलले जानकारी गराए।
बिपी कोइरालाको कुशल र सफल नेतृत्वले नै वर्तमान नेपालको इतिहासको जग खडा भएकाले कोइरालाको विविध पक्षलाई समावेश गरेर वृत्तचित्र निर्माण गर्न लागेको उनले जानकारी गराएबाग्मती प्रदेश, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत डिभिजन वन कार्यालय काठमाडौँको आर्थिक सहयोगमा निर्माण हुन लागेको वृत्तचित्रको छायाङ्कन कोरोनाको कारण केहि ढिलाई भए पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई छायांकन शुरु गरिएको छ ।
वृत्तचित्र निर्माण टोलीले बिराट नगरको कोइरालानिवास लगायत अन्य स्थानको साथै भारतको सुपौल टेडी, फारबिसगंज लगायतको एतिहासिक स्थानको छायांकन गरि काठमाडौं फर्किएको छ। कोरोनाको कारण भारतको छायांकनमा केहि ढिलाई हुने पनि निर्माण टोलीले जानकारी गराएको छ । टोलीले बिपी संग जोडिएका ब्यक्तिहरुको अनुभबलाइ समेत समेटेको छ ।
बिपी कोइरालाले बिएसम्म अध्ययन गरेको बनारस हिन्दू विश्वविद्यालय, बिपी कोइराला, गिरिजाप्रसाद कोइरालाले पढाई शुरु गरेको हरिशचन्द्र हाइ स्कूल, विसं २०२५ मा सारनाथस्थित बिपी कोइराला भाडामा बसेको घर, बिपी तथा मात्रिकाप्रसाद कोइराला पहिलोपटक जेलजीवन बसेको वनारस जेल, बिपी कोइराला बनारसको सरकारी स्कूल पढ्न छाड्ने घोषणा गरेको स्थानलाई समेत वृत्तचित्रमा समेटिनेछ ।
यस्तै, वृत्तचित्रमा पटनामा गोलघरको पार्कमा रहेको बिपी कोइरालाको शालिक, जय प्रकाश नारायणको नामबाट बिपी कोइरालाले उद्घाटन गरेको सङ्ग्राहलय, बैंक रोड अफ पटनालाई बिपी कोइरालाको नाममा निर्माण गरिएको सडक, बिहाटा एयरपोर्ट पटनालाई समावेश गरिने निर्माण टोलीले जानकारी गराएको छ ।
यसैगरी, कलकत्तास्थित नेपाली राष्ट्रिय कांग्रेस र नेपाली प्रजातान्त्रिक कांग्रेस विसं २००६ मा एकीकरण भएपछि बनेको नेपाली कांग्रेसको पहिलो बैठक बसेको टाइगर सिनेमा हल, बिपी कोइरालाले कानूनमा विएलसम्मको अध्ययन गरेको कलकत्ता विश्वविद्यालय, सुवर्णशम्शेरको कलकत्ता पार्क स्ट्रीटमा भएको घर, कलकत्ताको भवानीपुरस्थित खाल्सा हाईस्कुलमा सन् १९४७ जनवरी २५ र २६ मा भएको कांग्रेसको प्रथम महाधिवेशनस्थलसमेत वृत्तचित्रमा समेटिने पनि संग्राहलयका अध्यक्ष पोखरेलले जानकारी गराए ।
बिपीको राजनीति जीवनलाई सफल बनाउन मूख्य भूमिका खेल्ने लौहपुरुष गणेशमान सिंह र सुवर्णशम्शेर जबराको भूमिकालाई वृत्तचित्रमा समावेश गरिनेछ ।बिपीको समग्र व्यक्तित्वलाई झल्काउने दस्तावेज तयार गर्नुको साथै बिपी कोइरालासँग जोडिएका ऐतिहासिक ठाँउ जोगाउने मुख्य लक्ष्य वृत्तचित्रको रहेको अध्यक्ष पोखरेलले जानकारी गराए ।