भक्तपुर नगरपालिका स्थानीय स्काउटको दिक्षान्त समारोह सम्पन्न

भक्तपुर नगरपालिका स्थानीय स्काउटको दिक्षान्त समारोह सम्पन्न
कपन अनलाइन
भक्तपुर, पौष २७।
भक्तपुर नगरपालिका स्थानीय स्काउटको दिक्षान्त समारोह सम्पन्न भएको छ ।
आज सम्पन्न उक्त समारोहमा नेपाल स्काउट भक्तपुर नगरपालिकाका स्थानीय संरक्षक एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, प्रमुख स्काउट नपाका उपप्रमुख रजनी जोशी र सदस्य सचिव नगर शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्यलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले दिक्षित गरेका थिए  ।
कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख एवम् नेपाल स्काउट भक्तपुर नगरपालिकाका स्थानीय संरक्षक सुनिल प्रजापतिले संकटको समयमा निःस्वार्थ रुपमा देश र जनताको सेवा गर्नु नै स्वयम्सेवा भएको बताउनुहुँदै संकटको समयमा नेपाल स्काउटका गतिविधिले अझ व्यापकता लिने विश्वास लिएका थिए  ।
देशको अस्तित्व र सार्वभौमसत्ता सँग जोडिएको सन्धिसम्झौताको विषयमा स्काउटरहरुले जानकारी राख्नुपर्ने र देशघाती सम्झौताको विरुद्धमा आ–आफ्नो क्षेत्रमा क्रियाशील हुनुपर्नेमा जोड दिदै उनले भक्तपुर नगरपालिका स्थानीय स्काउट तदर्थ समितिलाई पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए  ।
देशको भविष्य युवा पुस्ताको हातमा हुने बताउदै प्रमुख प्रजापतिले संकटको समयमा साहसिक कामको लागि नेपाल स्काउटले खेल्दै आएको भूमिका उल्लेखनीय रहेको धारणा राखेका थिए । उनले कोभिड महामारी नियन्त्रणमा भक्तपुर नपाले स्काउट परिचालन गरी विविध गतिविधिहरुलाई जोड दिँदै आएको बताउदै भक्तपुर नपाले स्काउट परिचालन गरी पाक्षिक सरसफाइको अभियान सञ्चालन गर्दै आइरहेको धारणा राखे  ।
कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले नेपाल स्काउट एउटा स्वयम्सेवी संस्था भएको बताउनुहुँदै नेपालको ७५३ वटै स्थानीय तहमा नेपाल स्काउट गठन भइसकेको जानकारी गराएका थिए  । स्थानीय तहका बालबालिकाको संरक्षण गर्न र स्काउटिङ शिक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुहुँदै उहाँले यसले विद्यार्थीहरुलाई समुदायमा गएर काम गर्न प्रेरित गर्ने बताए  ।
भक्तपुर नपाका उपप्रमुख तथा नेपाल स्काउट भक्तपुर नगरपालिकाका स्थानीय प्रमुख स्काउट रजनी जोशीले अनुशासन र इमानदारिता असल विद्यार्थीको पहिचान भएको बताउनुहुँदै सभ्य समाज निर्माण गर्न र इमानदार नागरिक तयार गर्न नेपाल स्काउटको भूमिका प्रशंसनीय छ भने  ।
भक्तपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख एवम् स्थानीय स्काउट सदस्य सचिव कृष्णप्रसाद कर्माचायले नेपाल स्काउटबाट दिक्षित हुन पाउँदा गौरवान्वित महसुस भएको भन्दै  नेपाल स्काउटले विद्यार्थीहरुलाई मन, वचन र कर्मले निःस्वार्थ रुपमा जनता र समुदायको सेवा गर्न उत्प्रेरित गरिरहेको बताए  ।
नेपाल स्काउट भक्तपुर नगरपालिकाका स्थानीय संयोजक कृष्णसुन्दर प्रजापतिले नेपाल स्काउटले शैक्षिक अभियानको रुपमा आफ्ना गतिविधिहरु सञ्चालन गर्दै युवाहरुलाई कुलतबाट जोगाउन स्काउटको भूमिका खेलिरहेको बताउनुभयो । कार्यक्रममा स्काउटमास्टर मतिना त्वानाबासुले पनि मन्तव्य राखेका थिए  ।
तपाइँको प्रतिक्रिया ।