नेपाल प्रहरीका गणेश रानाभाटले राखे भारोत्तोलनमा राष्ट्रिय किर्तिमान

कपन अनलाइन

काठमाण्डौ ,पौष २८ ।

नेपाल प्रहरीका गणेश रानाभाटले २४ औं पुरुष तथा ९ औ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय किर्तिमान राख्न सफल भएका छन् । सिनियर पुरुष ५५ केजी तौल समूहमा रानाभाटले क्लिन एण्ड जर्कमा १०१ केजी भार बहन गर्दै किर्तिमान कायम गरेका हुन् । उनले सेनाका तुलाराम महतोले आजै कायम गरेको १०० केजीको किर्तिमानलाई भंग गर्दै किर्तिमानमा आफ्नो नाम लेखाएका हुन् । महतोले आजै आफ्नो नाममा काठमाण्डौमा आयोजना भएको तेश्रो सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगितामा राखेको ९८ केजी तौलको किर्तिमानमा सुधार गर्दै १०० केजीको नयाँ किर्तिमान कायम गरेका थिए । लगतै महातोको किर्तिमानलाई रानाभाटले १०१ केजीका साथ तोड्दै किर्तिमानमा आफ्नो नाम लेखाएका हुन् ।
ठिमिस्थित पार्टि प्यालेसमा भएको प्रतियोगिताको समग्रमा भने उनी तेश्रो स्थानमा रहे । पहिलो स्थानमा सेनाका तुलाारामनै रहे । उनले स्न्याचमा ८३ केजी, क्लिनमा १०० गरि समग्रमा १८३ केजी भार बहन गरे । यस्तै दोश्रो स्थानमा गणेश रहे । उनले स्न्याचमा ७२ केजी, क्लिनमा १०१ केजी गरि समग्रमा १७३ केजी भार बहन गरे । तेश्रो स्थानमा बर्दियाका रमकुमार थारु रहे । उनले स्न्याचमा ६५ र क्लिनमा ९० केजी गरि कुलमा १५५ केजी भार बहन गरे ।
नेपाल भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको सोहि उमेर समूह अन्तरगत युथ तर्फ पर्शाका राजन पटेलले स्न्याचमा ४२, क्लिन एण्ड जर्कमा ६० केजी गरि कुलमा १०२ केजीका साथ स्सवर्ण हात पारे । यस तौल समूहमा युथमा प्रतिस्पर्धा गर्ने उनी एक्ला खेलाडी थिए ।
यस्तै जुनियर तर्फ बाँकेका विनित योगी थारुले स्वर्ण जिते । उनले स्न्याचमा ७० केजी, क्लिनमा ९० केजीका साथ कुलमा १६० केजी भारका साथ स्वर्ण हात पारका हुन् । दोश्रो स्थानमा रहेका पर्शाका धिरज गुप्ताले स्न्याचमा ६५ केजी, क्लिनमा ८० केजीका साथ कुलमा १४५ केजी भार बहन गरे । बर्दियाका सुदीप थारु कुलमा १४० केजीका साथ तेश्रो भए । उनले स्न्याचमा ६५ र क्लिनमा ७५ केजी भार बहन गरेका थिए ।
कार्यक्रममा १० औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता कमल बहादुर अधिकारी र १३ औं सागमा स्वर्ण पदक प्राप्त गर्न सफल बिकास थापा र सञ्जु चौधरीलाई, संस्कृतिविद् सत्यमोहन जोशी, मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ पूर्ण शंकर श्रेष्ठले नगदसहित सम्मान गरेका थिए । पूर्णशंक श्रेष्ठले ब्यक्तिगत रुपमा नगद १० हजारसहित प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।
महिला तर्फ युथ ४५ केजी तर्फ बर्दियाकी अरुणिमा थारुले स्वर्ण र सप्तरीकी अम्बिका यादबले रजत प्राप्त गरे । थारुले स्नाचमा ३८ केजी, क्लिन एण्ड जर्कमा ५० केजी गरि कुल ८८ केजी भार बहन गरिन् । यस्तै यादबले स्नाचमा ३० र क्लिनमा ३५ केजी गरि कुल ६५ केजी भार बहन् गरिन् । ४९ केजी युथमा सप्तरीकी अञ्जली यादवले स्नाचमा ३५ केजी र क्लिनमा ४१ केजी गरि कुल ७६ केजीका साथ स्वर्ण प्राप्त गरिन् । यस्तै दाङ्गकी निशा चौधरीले स्नाचमा ३४ केजी, क्लिनमा ३८ केजीका साथ कुल ७२ केजीका साथ रजत र झापाकी सोनीदेवी दाशले स्नाचमा २८ केजी, क्लिनमा ४० केजी गरि कुलमा ६८ केजी भारका साथ कास्य पाईन् ।
जुनियर तर्फ ४५ केजीमा एक मात्र खेलाडी सप्तरीकी ज्योती मण्डलले स्नाचमा ३५ केजी, क्लिनमा ४० केजी गरि कुलमा ७५ केजी भार बहन गर्दै स्वर्ण प्राप्त गरिन् । ४९ केजीमा बर्दियाकी पवित्रा थापा मगरले स्वर्ण जित्दा दाङ्गकी सन्जना चौधरीले रजत पाईन् । दुई खेलाडीविच भएको प्रतिस्पर्धामा थापा मगरले स्नाचमा ४५ केजी, क्लिनमा ५६ केजीका साथ कुल १०१ केजीका साथ स्वर्ण प्राप्त गरेकी हुन् । यस्तै चौधरीले स्नाचमा ३५, क्लिनमा ४७ केजी गरि कुलमा ८२ केजी भार बहन गरिन् ।
महिला ४५ केजी सिनियर तर्फ नेपाली सेनाकी मनिषा रानाभाटले स्वर्ण जितिन् । उनले स्नाचमा ५२ केजी र क्लिनमा ६१ केजी गरि कुल ११३ केजी भार बहन गरिन् । दोश्रो स्थानमा रहेकी झापाकी करिना चौधरीले स्नाचमा ४८ केजी, क्लिनमा ६१ गरि कुलमा १०९ केजी भार बहन गरिन् । तेश्रो स्थानमा रहेकी नेपाल प्रहरीकी हिरामती थारुले स्नाचमा ४६ केजी र क्लिनमा ५५ केजीका सा १०१ केजी भार बहन गरिन् ।
महिला ४९ केजी तर्फ प्रहरीका संगिता राईले स्वर्ण र तिला राईले रजत पाईन् । संगिताले स्नाचमा ५५ केजी र क्लिनमा ७३ केजी गरि कुल १२८ केजी भार बहन गरेकी थिईन् । तिलाले स्नाचमा ४३ केजी, क्लिनमा ५२ केजी गरि कुल ९५ केजी भार बहन गरिन् ।

तपाइँको प्रतिक्रिया ।