‘बाल अधिकार सम्वन्धी ज्ञान सम्मेलन’ को आयोजना हुने

‘बाल अधिकार सम्वन्धी ज्ञान सम्मेलन’ को आयोजना हुने

कपन अनलाइन

काठमाण्डौ ,पौष २६।

बालबालिकाको क्षेत्रमा गरिने विभिन्न सर्वेक्षण, अध्ययन अनुसन्धानबाट प्राप्त नतिजालाई एकतृत पार्ने र प्रस्तुतीका लागि मञ्च उपलब्ध गराउने उद्देश्यले ‘बाल अधिकार सम्वन्धी ज्ञान सम्मेलन’को आयोजना गरिने भएको छ ।
राष्ट्रिय बालअधिकार परिषद्द्वारा सोमवार राजधानीमा आयोजित कार्यक्रममा सो कुराको जानकारी दिइएको हो ।
सम्मेलनका लागि परिषद अन्तरगत अध्ययन अनुसन्धान प्रशिक्षण शाखाले विमला ज्ञवालीको संयोजकत्वमा उपसमिति गठन गरेको छ ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उप–सचिव शान्तिराज प्रसाईंले बालबालिकाको क्षेत्रमा भएका अनुसन्धानमा आधारित प्रतिवेदन, लेख रचनाले यस क्षेत्रको नीति, योजना बनाउन सहयोग पुर्याउने  विश्वास व्यक्त गरेका थिए ।
परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले बालबालिकाको क्षेत्रमा विभिन्न निकाय, व्यक्ति संस्थाहरूले गरेका अध्ययनमा आधारित अनुसन्धानको प्रतिवेदनहरू परिषद्मा अभिलेखिकरण गर्ने सुरूवात स्वरूप पहिलो पटक बालअधिकार सम्बन्धी हुने ज्ञान सम्मेलनमा धेरै क्षेत्रको सहभागिता हुने कुरामा जोड दिएका थिए  ।
परिषद् अन्तरगत अध्ययन अनुसन्धान प्रशिक्षण शाखा प्रमुख आत्मराम थापाले बाल अधिकार सम्वन्धी ज्ञान सम्मेलनमा बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, गरिबी, दुव्र्यवहारलगायत बालबालिकामाथि हुने जोखिमलगायतका वृहत विषयमा कार्यपत्र, पोष्टरको प्रस्तुती,छलफल गरी यसको निचोडलाई पुस्तकका रूपमा ल्याइने बताए  ।

सम्मेलन आयोजना फागुनको पहिलो सातातिर गर्ने लक्ष्य छ, कोरोनाको तेस्रो लहरको आसङ्काबीच मिति ठ्याक्के तोकिएको छैन, भौतिक उपस्थितीमै सम्पन्न गर्ने लक्ष्य भएपनि आवश्यक परे भर्चुअल पनि आयोजना गर्न सकिने थापाले जानकारी दिएका थिए ।

सो उपसमितिमा विमला ज्ञवालीले बालबालिकाको क्षेत्रमा भएका ज्ञानको खोजी, अनुसन्धानलाई नजितामुखी कार्यान्वयन गराउन सम्मेलनले प्रेरित गर्ने बताएकी थिइन्  ।
सो अवसरमा उपसमितिका सदस्य पेम्वा लामाले देशको कर्णधार बालबालिकाको वृहत्तर हितका लागि बालबालिकासँग सम्वन्धीत अनुसन्धानको नतिजालाई परिषद्मै सङ्कलन गर्ने अभ्यासको थालनी गर्न लागेको बताएकी थिइन्  ।
उनले बालअधिकार परिषद्लाई बालबालिकाको क्षेत्रमा भएका र आगामी दिनमा गरिने अध्ययन अनुसन्धान, लेखिने लेख रचना समेत सङ्कलन गरिने स्रोत केन्द्रको रूपमा विकास गर्न सम्मेलन पहिलो अभ्यास हुने विश्वास व्यक्त गरेकी थिइन्  ।

तपाइँको प्रतिक्रिया ।