सिंहदरबारको मूल गेटपनि ओलीलाई पर्खिएर बसेको छ : दुर्गा प्रसाई

सिंहदरबारको मूल गेटपनि ओलीलाई पर्खिएर बसेको छ : दुर्गा प्रसाई

कपन अनलाइन

काठमाण्डौ ,पौष १८।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो दल बन्ने र बहुमत हाँसिल गरेर सत्तारोहण गर्ने स्पष्ट पारेका छन् । उनले जनताले अब देशको लागि चाहिने पार्टी नै एमाले हो भनेर थाहा पाईसकेको दाबी गरे ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता प्रसाईले यस्तो बताएका हुन् । उनले मुलकको मुख्य प्रशासनिक केन्द्र (सिंहदरबार) ले पनि प्रधानमन्त्रीको रूपमा आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई पर्खिएर बसेको टिप्पणी गरे ।
उनले भने,‘अघि, ऋषिजीले आउने निर्वाचनमा एमालेको पोजिसनको कुरा, म भन्छु–जनताको प्रिय पार्टी भनेको नै एमाले हो । देशमा भएका उद्योग, धन्दा, कलकारखाना बेच्ने पार्टी चाहिन्छ ? होईन, बन्द रहेका उद्योग÷कलकारखाना सञ्चालन गर्नुपर्छ र युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्छ भन्ने एमालेजस्तो पार्टी चाहिन्छ ? जनताले अब सबै कुरा बुझिसके, म भन्छु अब जनताले एमालेलाई रोज्छन् । किनकी हामीले काम गरेका छौं ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आगामी निर्वाचनमा जम्मा एक करोड मत खस्यो भने ७० लाख मत त एमालेलाई मात्रै आउने दाबी गरे । उनले भने–‘सिंहदरबारको मूल गेटपनि हाम्रो पार्टीका अध्यक्ष केपी ओलीलाई पर्खिएर बसेको छ ।’
उनले संसद् विघटन गर्ने कुरा प्रधानमन्त्रीको कार्यकारी अधिकारभित्रको कुरा भएको तर्क गर्दै यसअघि तत्कालिन प्रधानमन्त्री ओलीले गरेको दुई पटकको संसद् विघटन जायज थियो भन्ने तर्क गरे । उनले भने–‘कार्यकारी अधिकार प्राप्त गरेको प्रधानमन्त्रीले दुई चोटी मात्रै होईन, पाँच पटक पनि संसद् विघटन गर्न सक्छ ।’ उनले आफूले पार्टीको नुर गिर्न नदिनेगरि काम गरिरहेको पनि विश्वास दिलाए ।
कार्यक्रममा उपस्थित् एक पत्रकारले ‘तपाईँको त बोली ठ्याक्कै, अध्यक्ष केपी ओलीजस्तै छ नि’ भनेर पनि सोध्न भ्याए । जवाफमा प्रसाईले भने–‘उहाँले पनि आठराईको पानी खाएको हो । अनि मैले पनि आठराईकै पानी खाएको हुँ, अलि–अलि त आईहाल्छ नि । आठराईको झझल्को त आईहाल्छ नि ।’
उनले आफ्नो पार्टीको हालै सम्पन्न भएको १०औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुम्भमेला भनेको स्मरण गराउँदै आफ्नो पार्टीको महाधिवेशन भव्य रुपमा सफल भएको सुनाए । तर, अहिले माओवादी केन्द्रको महाधिवेशन चाहीँ कुम्भमेलाजस्तो भएको प्रसाईको टिप्पणी छ । उनले भने–‘हामीले त तीन दिनमा महाधिवेशन सम्पन्न गर्यौं । हाम्रो महाधिवेशनस्थलमा देशभरिबाट एमालेका १० लाख जनता आए । तर, माओवादीको महाधिवेशन सुरु भएको आज ८ दिन भैसकेको । यो चाहीँ बरु कुम्भमेला हो । विचार र राजनीतिको कुरा गर्दा, माओवादीका नेताहरुले जनताको छोराछोरीलाई बुर्जवा शिक्षा भन्ने, अनि आफ्ना छोराछोरी अमेरिका र लण्डन पठाउने पनि गरेको हामील्े देख्यौं । बरु, सबैका छोराछोरी एउटै स्कुलमा पढ्ने अवस्था सिर्जना गर्नुपर्छ । महाधिवेशन भनेको त शक्ति प्रदर्शन गर्ने पनि हो । हामीले त गर्यौं, तर अहिले माओवादीले ७÷८ सय मान्छेको उपस्थितिमा महाधिवेशन गरेको छ ।’
आफ्नो पार्टीले देशको विकास र समृद्धिको लागि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको पनि प्रसाईको भनाई छ । उनले शिक्षा, स्वास्थ्य र रोजगारी तीन वटा कुरामा पार्टीले विशेष ध्यान दिएको पनि सुनाए । उनले थपे–‘यसको साथै विकास निर्माणका काम पनि गर्ने नै छ । यसअघिको केपी ओलीको नेतृत्वको सरकारले विकास निर्माणको कामको सुरुवात गरेको छ ।’
उनले राज्यले लिने नीतिको कारण देशमा भएका धेरै उद्योग÷व्यवसाय हुने अवस्था आउने पनि चिन्ता व्यक्त गरे । हालै कांग्रेस महामन्त्री गगनकुमार थापालाई लिएर चिकित्सा शिक्षा सुधारको अभियान चलाएका प्रा.डा. गोविन्द केसीको नेतृत्वले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको र ९ बुँदे समझदारी भएकोप्रति उनले प्रश्न उठाए । उनले मेडिकल कलेज बन्द भए आफ्नो मुख नसुक्ने पनि टिप्पणी गरे । उनले भने–‘चिकित्सा शिक्षा पढाउँछु भन्ने अभिभावकको मुख सुक्छ नि, मेरो त एउटै हो, त्यही एउटा बन्द हुन्छ। गोविन्द केसीको नारा पूरा गर्न प्रधानमन्त्रीले सम्झौता गरिसक्नुभएको छ । अब देशका २० वर्ष पुगेका सबै युवा विदेश जान्छन् । नेपालको पैसा सबै विदेश जान्छ । उहाँहरुलाई बधाई र शुभकामना छ ।’
पार्टीका उद्योग विभागको उपप्रमुख समेत रहेका नेता प्रसाईले २०४६ सालपछि निरन्तर सत्ताको बागडोर नेपाली कांग्रेसले सम्हालेको र सो अवधिमा देशमा विद्यमान उद्योग, धन्दा र कलकाखाना बेचिएको पनि आरोप लगाए । उनले भने–०४६ सालपछि सबैभन्दा बढि कांग्रेस नै सत्तामा बस्यो । ०४६ देखि ०६० सालसम्म कांग्रेस नै अधिकांश समयसम्म सत्तामा रह्यो, यो सबैले थाहा पाएको कुरा हो । र, देशमा भएका उद्योग÷धन्दा सबै बेचिए । गिरिजा र किसुनजीको जहिल्यै लडाईँ÷झगडा थियो । मुलुकमा भएका उद्योगहरु नै बेचिएपछि र रोजगारी नै बन्द भएपछि युवाहरु विदेशिन बाध्य भए । अहिले दैनिक ३ हजार युवाहरु श्रमको लागि विदेश गैरहेका छन् । भारतका ठूला–ठूला शहर र साउदी, कतारमा एक करोड युवाहरु श्रमको सिलसिलामा छन् । ती युवाहरुलाई अब स्वदेशमा ल्याउनुपर्छ । हिजो बेचिएका कलकाखाना सुरु गर्नुपर्छ । हाम्रो पार्टीको मेन लाईन पनि त्यही हो । नेपालमा नर्सिङ कलेज बन्द हुँदा फाईदा कसलाई हुन्छ ? युवाहरु पलायन हुने अवस्था आयो । सबैले पैसा लिएर बाहिर पढ्न गए । नेताहरु पनि पैसा लिएर जाने, नेताका छोरा–छोरी विदेशमा बसेर पढ्ने, उनीहरुका छोराछोरी अहिले उच्च शिक्षा लिन लण्डन, अमेरिका, युरोप र अष्ट्रेलियामा छन्, अहिले नेपालमा बैंकमा तरलता भएको छ ।’
उनले यस्तै पारा हो भने मिडियाले पनि अब विज्ञापन नपाउने अवथा आउनेपनि सुनाए । उनले भने,‘अब तपाईँहरुले पनि विज्ञापन पाउन छोड्नुहुन्छ । महामन्त्री गगन थापासँग गएर गोविन्द केसीले प्रधानमन्त्री देउवालाई भेटेर ९ बुँदे सहमति गरे । मेडिकल कलेज पनि सिध्याउने सम्झौता गरेका छन् । हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले यो विषयमा बोल्नुभएको छ, उहाँले अब गरिबका छोराछोरीले पढ्न नपाउने भए भनेर बोल्नुभएको छ ।’
प्रसाईले साना तथा ठूला गरेर मुलुकका ५ सय कखकारखाना बेचिएको आँकडा प्रस्तुत गरे । उनले भने–‘गोरखकाली टायर, भृकुटी कागज, बाँसबारी छाला जुत्ता सकियो, यी उद्योग कसको पालामा सकियो ? हाम्रो पार्टी एमालेको पालामा त धरहरा बन्यो । रानीपोखरी बन्यो । दरबार हाईस्कुल बनायौं । एमालेले सरकारमा नेतृत्व गर्दा हजारौं नयाँ सडक बनायो । हामीलाई ३०औं युनिभर्सिटी चाहिएको छ । अहिले लण्डनले नर्स माग्यो । यो राम्रो कुरा हो । हामीले विदेश युवाहरुलाई पठाउँदा पनि स्किल्ड म्यानपावर पठाउनुपर्छ ।’
प्रसाईले नेपालमा कोहीपनि सर्वहारा नभएको दाबी गरे । उनले भने–‘म कसरी सर्वहारा ? नेपालमा त हेर्नुहोस, जसको पनि जन्मिँदा जमिन छ । हाम्रो विवेक मात्रै सर्वहारा । नारा एउटा अनि काम अर्को भएर बिग्रेको हो नि ।’ उनले नेताका छोराछोरीले पनि विदेशमा गएर पढ्न पाईने बताए ।
एमाले र माओवादी केन्द्र अलग–अलग भैसकेकोले फेरि मिल्ने सम्भावना कत्तिको छ भनेर सोधिएको प्रश्नमा प्रसाईले नेपालमा माओवादी नै नभएको जिकिर गरे । उनले भने–‘यो देशमा माओवादी नै छैनन् नि, कहाँबाट मिल्नु ? म माओवादी थिएँ, अहिले एमालेमा गैसकें । असली माओवादी त जम्मै गैसके । अहिले कति छन् ? प्रज्ञा भवनमा हेर्नुहोस न, सिनेमा हलमा ? आज ७ दिन भयो । हजार मान्छे होलान् त्यहाँ । हाम्रो महाधिवेशनमा १०औं लाख मान्छे थिए । तर, हाम्रो ठूला मिडियाले कभरेज गर्न मानेनन् । कन्जुस्याँई गरे । अब कन्जुस्याँई नगर्नुहोस, भएको कुरा लेख्नुहोस ।’

तपाइँको प्रतिक्रिया ।