एकता दिवसको दिन पौष २७ गते सार्वजनिक विदा दिन माग

एकता दिवसको दिन पौष २७ गते सार्वजनिक विदा दिन माग

कपन अनलाइन

काठमाण्डौ ,पौष १८।

राष्ट्रिय एकता परिषद्ले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको ३०० औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक विदा दिन माग गरेको  छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर परिषद्ले राष्ट्रिय एकता दिवसको रुपमा उक्त दिन सार्वजनिक बिदा दिन माग गरेको हो ।
पूर्वमन्त्री कुमार वेलवासेले सबै नेपाली पृथ्वीनारायण शाह प्रति ऋणी भएको बताए । उनले भने, ‘पृथ्वीनारायण शाह प्रति ऋणी भएको भन्दै नेकपा मालेको विश्लेषण पनि यही हो ।’ अंग्रेजको नेपाल जस्तो अनुकुल राज्यलाई कब्जा गर्ने उद्देश्यलाई पृथ्वी नारायण शाहले पुरा गर्न नदिएको बताए ।
नेपालको राज्यलाई एकिकरण गरेर आज हामीले एउटा सिंगो देश पाएको पनि उनले सुनाए । ‘यो सार्वभौम सम्पन्न देश नेपाल हो, नेपाली जनताको उन्नती सुख र समृद्धी, सिंगो नेपालको उन्नतीको लागि विकास गरिदिने पृथ्वीनारायण शाह प्रति सबै नेपाली आभारी हुनु पर्छ,’ उनले भने ।
पृथ्वी नारायण शाहले एकीकरण गरेकै कारण आज नेपालमा पर्यटनको क्षेत्रमा पनि सम्भावना बढेको भएको बताए । आफ्नो पार्टी मालेले बडामहाराज पृथ्वी नारायण शाहको जन्म भएको दिन पुस २७ गतेलाई राष्ट्रिय दिवस दिन घोषणा गर्नुपर्ने बताउदै आएको सुनाए । उनले भने, ‘आज देशको स्थिति डामाडोल छ । हरेक धार्मीक, जातिय, राजीतिक अवस्था अस्तव्यस्त भएका छन् ।’ सरकारले सार्वजनिक बिदा दिएर पृथ्वी नारायण शाहप्रतिको आफ्नो कतव्र्य पुरा गर्नु पर्ने उनको भनाई थियो । राष्ट्रिय एकताको लागि अब सबै राष्ट्रवादी शक्तिहरु एक भएर देश बनाउनुपर्ने दिन आएको उनले बताए ।
पूर्वमन्त्री मोदनाथ प्रश्रितले अनेक जातजातिमा बाँडिएका देश नेपाललाई एकिकृत गरेर पृथ्वीनारायण शाहले पुर्व देखि पश्चिमसम्म चट्ट मिलेको देश निर्माण गरेको बताए । धेरै टाकुराले बनेको देश नेपाल हो भन्दै आफुले पाएको एउटा टाकुराको जिम्मेवारीले पनि पृथ्वीनारायण शाहले सिंगो देश बनाएर नेपाली जनतालाई गुण लगाएको बताए ।
एकीकरणको नायक राजानै भएको उनको भनाई थियो । अब सबैलाई समेटेर लैजानपर्ने विशेष दुरदर्शीता भएको नेताको आवश्यकता रहेको उनले औल्याए । पृथ्वीनारायण शाहको गुणलाई नेपालीले जति नै चर्चा गरेपनि नपुग्ने भन्दै उनकोे योगदानको सम्मान गर्दै सबै जनताप्रति उनले देशलाई दिएको योगदानको बारेमा जागरुक बनाउन पर्ने समय आएको बताए ।
नेपाली कांग्रेसका नेता बिपिन कोइरालाले राष्ट्रिय विभूती, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको चर्चा गर्दै विदेशीको हातमा पर्न नदिएर देशलाई जोगाएको स्मरण गराए । उनले भने, ‘देशलाई अंग्रेजको हातमा पर्न नदिएर टुक्रा–टुक्रा राज्यलाई जोडेर पृथ्वीनारायण शाहले देश एकिकरण गर्नुभएको हो।’
नेता कोइरालाले आजकै दिन बिपी कोइरालाले मेलमिलापको नीति लिएर नेपाल भित्रिएको स्मरण गराए । आजको दिन बिपीको मेलमिलाप नीति र पृथ्वीनारायण शाहको कार्यक्रमको समय जुर्दा आफु निकै खुशी भएको सुनाए । पृथ्वी नारायण शाहको राष्ट्रिय एकता र बिपीको मेलमिलापको नीतिको धेरै समानता भएको उनको भनाई थियो ।
देश रहेमात्र नेपाली रहने भन्दै उनले राजसंस्थाले मात्रै राष्ट्रको अभिभावकत्व लिन सक्ने जिकिर गरे । उनले भने, ‘राष्ट्रपति त दलको लागि मात्रै हो । हामीले २ राष्ट्रपति भोगिसकेका छौ ।’ वीपीको सिद्धान्तबाट कांग्रेस पछि हटेको समेत उनले आरोप लगाए । सबै राजनीतिक दलहरुलाई कसैलाई निधेष नगरी राष्ट्रिय एकतामा लाग्न उनले आग्रह गरे । सन्तुलित परराष्ट्र नीतिलाई प्राथमिकतामा राखेनौ भने देशको अवस्था बिग्रने उनको भनाई थियो ।
परिषद्का काठमाडौं उपत्यका संयोजक दिनेश नापितले राष्ट्र बनाउने एकमात्र व्यक्ति भनेको राष्ट्रपिता पृथ्वीनारायण शाह नै भएको जिकिर गरे । एमसीसीलाई पास गर्न दिन नहुने उनको भनाई थियो । उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले पुस २७ गते सार्वजनिक विदा नदिए देउवाकै घरमा खुर्पा लिएर भएपनि बिद्रोह गर्ने दिन नओस् । कुनै हालतमा बिदा दिनै पर्छ ।’
रजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले पृथ्वीनारायण शाहको जन्म र एकता दिवसको आयोजना जुटाएकोमा खुशी लागेको बताए । पृथ्वी नारायण शाह, एकिकरण र एकताको शब्द एकआपसमा जोडिएको उनका भनाई थियो । यो राष्ट्रिय विषयको रुपमा उठिरहेको पनि उनले बताए । पुस २७ गते एकता दिवस मनाउनु पर्छ भन्ने नेताहरु नै धेरै पटक मन्त्री भएको तर मन्त्री भएपछि सबै बिर्सिएको आरोप लगाए ।
उनले भने, ‘मुख्य कुरा दिवस भन्दा पनि मर्म र त्यसले दिएको सन्देश हो । त्यसले दिने संकोचलाई जनमानसमा लान नसकेको कारण आज देशको अवस्था यस्तो भएको छ ।’ कुनै पनि मानिस मानिस नभई राजनीतिक दलको पहिला हुनेमा दुःख लाग्ने बताउँदै भने,‘ हरेक कुरालाई सामाजिकीरकण गर्नुहुँदैनथ्यो । सबै दलमा मात्र देखिए ।’
५१ प्रतिशत महिलालाई कमजोर रुपमा राखेर राष्ट्रियतनको कुरा गर्न सम्भव नभएको उनको भनाई थियो । देश भुगोलको रुपमा एकिकरण भएपनि देशका मानिसहरु भावनात्मक रुपमा एकतामा बाधिन नसकेको उनको भनाई छ ।
उनले भने, ‘यही कारणले गर्दा आज देशमा विदेशीहरु हावी भएका छन् । यही जगबाट ०६२÷०६३ को आन्दोलन भएका छन् । नयाँ व्यवस्थाले नेपाली जनताहरुले केही पाएका छैनन् ।’ यसमा जनताहरु नै दोषी भएको उनको ठहर छ । ‘निर्वाचनमा जाँदा जसले देश बिर्गाछन् तीनैलाई भोट दिन्छन् । जसले संघियता चाहिदैन भन्छ, त्यसले जनमोर्चालाई भोट हाल्दैन्, जसले राजतन्त्र चाहिन्छ भन्छ उसले कांग्रेस, एमाले र माओवादीलाई भोट हाल्छ । जबसम्म यस्तो परिपाटीको अन्त्य हुँदैन तब सम्म या समस्या हुन्छ । जनताबाट लाइसेन्स लिएर नेताहरुले अति नै गरेका छन् । नेतासँग जनता जोडिएका छन् जनताले नै हटाउन पहल गर्नुपर्छ ।’–उनले भने, ‘ संघियताको विरोध गर्ने चित्रबहादुर केसीले आज मत नै पाउँदैनन् । यी सबै विरोधाभास कुरा गरेर मात्र लक्ष्यमा पुग्न सकिदैन् ।’
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य रोहित प्रसाद पौडेलले पृथ्वी नारायण शाहको ३००औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन पुस २७ गते सभ्य र भव्य रुपमा मनाउने बताए । उनले वीर अस्पतालमा जम्मा भएर सिंहदरबार जाने कार्यक्रम रहेको पनि जानकारी दिए । पृथ्वी नारायण शाहको जन्म ३ सय वर्ष बितिसक्दा पनि राज्यले राष्ट्रिय रुपमा सार्वजनिक बिदा नदिएकोमा उनले दुःख व्यक्त गरे ।
उनले भने, ‘कि त सरकारले पृथ्वीनारायण शाहले गरेको एकिकरण बेठिक थियो, मान्दैनौ भन्न पर्यो होइन भने सार्वजनिक विदा दिन सक्नु्पर्छ ।’ क्रिसमसलाई विदेशीको सस्कार भएको भन्दै उनले क्रिसमसलाई बिदा दिने सरकारले राष्ट्रपिता पृथ्वीनारायणको जन्मोत्सवमा बिदा दिन नसक्नु निकै दुखद भएको सुनाए । यदि पुस २७ गते विदा दिएन भने सशक्तरुपले आन्न्दोलन गर्ने बताए ।
राष्ट्रिय एकता परिषदको केन्द्रीय सदस्य रघु न्यौपानेले पृथ्वीनारायण शाहले एकिकरण गरेको मुलुक नेपाल आज खण्ड खण्ड भएको बताए । पछिल्लो समयमा राजनीतिक दलहरुले देशलाई बिखण्डन गरेको आरोप लगाए । उनले भने, ‘देशमा जनताले नचाहेपनि संघियता लादिएको छ ।’ क्रिसमसमा बिदा दिने गरिएको व्यवस्थालाई खारेज गर्नुपर्ने माग उनले गरे । राष्टिय पहिचान मेट्ने तत्वलाई सरकारले जोगाउन लागेको र राष्ट्र एकता गर्ने राजा शाहको पहिचान मेट्न लागेको समेत उनले आरोप लगाए ।
उनले पृथ्वी नारायण शाहको जन्मोत्सवको दिन पुस २७ गते सार्वजनिक बिदा दिएर विभिन्न कार्यक्रमको साथ मनाउँन सरकारसँग जोडदार माग गरेका छन् ।
वेवारिसे लाश व्यवस्थापन गर्दै आएका बिनयजंग बस्नेतले पुस २७ गते बिदा दिनु पर्ने माग नै आवश्यकता नभएको बताए । उनले भने, ‘यो माग राख्न होइन् सरकार आफैले बुझ्नुपर्छ ।’ राजा कुनै पनि दलको मात्र नहुने भन्दै राजा मात्रै सबै नेपालीको साझा भएको उनको भनाई थियो ।
राजनीतिक दल हाबी भएको इशारा गर्दै उनले सबैभन्दा पहिला दल भन्दा पनि हामी नेपाली हुन आवश्यक रहेको बताए । बस्नेतले पुस २७ गते बिदा दिइएन भने पुर्वमेची देखि महाकाली सम्म सबै नेपाली एक भएर अगाडी बढ्न पर्ने अवस्था आउने चेतावनी पनि दिए ।
त्यस्तै, विजेश्वरी मन्दिरका पुजारी हेमरत्न शाक्यले पुस २७ गते पहिला दिइएको बिदा खारेज गरेकोमा दुख लागेको सुनाए । पुस २७ गते एकता दिवसको दिन गरिने कार्यक्रमलाई कुनै विरोध जुलुशको रुपमा नलिन पनि सरकारसँग माग गरे ।
कार्यक्रममा राष्ट्रवादी आन्दोलन मोर्चाका अध्यक्ष तारानाथ लूइटेलले पुस २७ गते राष्ट्रिय एकताको दिन सरकारले कुनै हालतमा पनि बिदा दिनुपर्ने बताए । उनले भने, ‘यो राष्ट्रिय पर्वको रुपमा हर्षोल्लासको साथ मनाइनुपर्छ ।’ उनले देशलाई चिनाउने उनको शालिकलाई भत्काउन नहुने बताए । गणतन्त्र नेपाली जनताको लागि नल्इाएको भन्दै उनले भने, ‘१७ हजारलाई मानिसहरुलाई मारेर ल्याएको गणतन्त्र नेपाली जनतालाई चाहिदैन ।’
एमसीसीको कारण आज देश बन्धक बनेको आरोप उनले लगाए । आज राजनीतिक दलको अदुदर्शिताको कारण देश सकिदै गएको, टाट पल्टीदै गएको उनको आरोप थियो । उनले भने, ‘पुस २७ गते राष्ट्रिय पर्वको रुपमा सार्वजनिक विदा दिन पर्छ र यदि विदा दिइएन भने नेपाली जनता आन्दोलनमा उत्रिन्छन् ।’
उनले देशलाई चिनाउने नै पृथ्वीनारायण शाह नै भएको भन्दै नेपाली पैसामा उनको फोटो राख्नुपर्ने धारणा राखे । अब गणतन्त्रीक सरकारलाई ढाल्नै पर्ने दिन आएको समेत जिकिर गरे । पुस २७ गते सरकारले बिदा दिनपर्ने बताए । प्रधानमन्त्री देउवालाई बिदा दिन पनि आग्रह गरे ।
परिषदका सदस्य तिलाराम पौडेलले अहिलेका राजनीतिक दलका नेताहरुलाई देश टुक्राउन सजिलो भएको र्भपनि बनाउन र जोड्न निकै गाह्रो हुने बताए। राजा शाहले निकै दुखले एकिकरण गरेको उनको भनाई थियो ।
अहिलेको शासन व्यवस्था कुनै पनि हालतमा नेपालीहरुलाई मान्य नभएको समेत उनले जिकिर गरे । अहिलेको व्यवस्था नेपालले धान्न नसक्ने भन्दै नेपालको ८३ प्रतिशत कर्मचारीतन्त्रमा खर्च हुने बताए । बाँकी भएको मात्र देश निर्माणको लागि प्रयोग हुने उनको भनाई थियो । तोडफोड गरेका राष्ट्रिय विभुतिका शालिकहरु अबिलम्म पुननिर्माण गर्नसमेत उनले सरकारसँग माग गरे । सरकारले कुनैपनि हालतमा पुस २७ गते बिदा दिएर राजाको शालिकमा माल्यार्पण कायक्रमको आयोजना गर्न उनले आग्रह गरे । सोही दिन सरकारको तर्फबाट एकता दिवस मनाउने पर्ने उनको भनाई थियो
३००औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समाराहेका समितिका संयोजक कृष्ण प्रसाद लुइँटेलले देश हिड्नुपर्ने बाटोलाई छाडेर फरक बाटो हिडेको टिप्पणी गरे । नेपाल र नेतृत्वहरु अहिले गलत बाटोमा हिडेको उनको भनाई थियो । उनले गलतबाटो हिडेपछि सहिमार्गमा पुग्न नसक्ने उनको भनाई राखे । उनले भने, ‘०४७ सालको संविधानदेखि ०७२ सालको संविधानसम्म आउँदा धेरै विचारले राज गर्यो । बिपि विचार, माओ विचार, लेनिन विचारले राज गर्यो यो विषयमा विचार गर्ने की नगर्ने ? यो विचारले गर्दा यो मुल्ुक फसेको छ ।’ उनले २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिनमा हर्षोल्लासाथ मनाउनको लागि अविलम्ब सार्वजनिक बिदा घोषणा गर्न सरकारसमक्ष माग गरे ।

तपाइँको प्रतिक्रिया ।