माधवनारायण मेलामा ब्रतालुका लागि कोभिड विरुद्धको खोप अनिवार्य

माधवनारायण मेलामा ब्रतालुका लागि कोभिड विरुद्धको खोप अनिवार्य

कपन अनलाइन

काठमाडौं पौष १४ । माधवनारायण स्वस्थानी व्रत तथा शालि नदी सुधार समितिले माधवनारायणको व्रतका लागि कोभिड विरुद्धको खोप अनिर्वाय गरेको छ । प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुको शालि नदीमा लाग्ने धार्मिक मेलाको व्रतमा सहभागी हुने भक्तजनलाई कोभिड–१९ विरुद्धको खोप अनिवार्य लगाउनुपर्ने मापदण्ड तय गरेको हो । गत वर्षजस्तै यस वर्ष पनि सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरी मेला सञ्चालन गरिने समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठलेजानकारी गराएका छन  ।

समितिले आगामी माघ ३ गतेदेखि सञ्चालन हुने माधवनारायण व्रतका लागि अन्य मापदण्ड पनि तय गरेको छ । व्रत बस्न इच्छुक भक्तजनले अनिवार्यरूपमा छातीको एक्स–रे र निमोनियाको जाँच गराएको रिपोर्ट साथमा लिएर आउनुपर्ने छ । कोभिड परीक्षणको रिपोर्टसमेत साथमा संलग्न हुनुपर्ने तथा १६ देखि ६० वर्ष उमेर समूहकालाई मात्र व्रतालुका रूपमा स्वीकारिने समितिले जनाएको छ । गतवर्षहरुमा जस्तै यस वर्ष पनि समितिले पत्रकार सम्मेलन मार्फत् आम भक्तजनमा यस वर्षको माघ मेला तयारी बारे जानकारी गराउन मेला सञ्चालन हुनुभन्दा हप्तादिन अगाडि पत्रकार सम्मेलनको आयोजना गरिने जानकारी समेत दिएको छ ।साथै व्रतालु संख्या समेत सीमित गरिने समेत समितिले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।