चोरीको मोटरसाइकल सहित दुई जना पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,पौष ८।

काठमाडौंको लामबगरबाट चोरीको मोटरसाइकल सहित दुई जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ ।

सादा पोसाकमा खटिएको टोलीले लामबगरबाट घरको पार्किङमा लुकाई राखेको अवस्थामा प्रदेश ३ -०२-०११ प ८०७३ नम्बरको कालो रातो रंङको २२० सी.सी.को पल्सर मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा धादिङ खनियाबास गा.पा. ३ घर भई गैरीगाउँ लामाबगर बस्ने वर्ष १९ को पारस तामाङ्ग र धादिङ नेत्रावती डब्जोङ गा.पा. १ घर भई लामबगर बस्दै आएको बर्ष २२ को बुद्धि बहादुर तामाङ्गलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।

पक्राउ भएको उक्त मोटरसाइकल मनमैजु घर कम्पाउण्डबाट यहि मंसिरमा हराएको भनी काठमाडौं तारकेश्वर नगरपालिका -८, मनमैजु बस्ने सुजिन्द्र लामाले हुलिया सहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए ।

मोटरसाईकल सहित पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धान तथा चोरी मुद्दामा कारबाहिका लागी महानगरीय प्रहरी बृत्त बालाजुमा पठाइएको छ ।

तपाइँको प्रतिक्रिया ।