एमाले अधिबेशन : चितवनमा बढ्यो चहलपहल
कपन अनलाइन
काठमाडौँ, मंगसिर ९ ।नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनको तयारी लगभग सकिएको छ। यतिबेला चितवनको नारायणी नदी किनार क्षेत्र र सौराहा क्षेत्रमा चहलपहल बढेको छ। एमालेका केन्द्रीय तहका नेतादेखि जनवर्गीय सङ्गठनका नेता चितवन आउने क्रम जारी छ।
देशका विभिन्न ठाउँबाट आउने नेता कार्यकर्ताहरुलाई स्वागतका लागि चितवन ५० भन्दा बढी ठाउँमा स्वागतद्वारहरु बनेका छन् ।बन्दसत्र हुने सौराहामा २२ सय जना अट्ने हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।‘प्रतिनिधिहरुका लागि आवास र खानाको व्यवस्थापन गर्न होटल व्यवसायीसँग सम्झौताभइसकेको आयोजकले जानकारी गराएका छन्।नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनमा एमालेको निमन्त्रणा स्वीकार गरी आठ वटा विदेशी पार्टीका १५ जना पाहुना उपस्थित हुने भएका छन ।
महाधिवेशनको पूर्वसन्ध्यामा आज बिहीवार नेकपा (एमाले) विदेश मामिला विभागले काठमाडौंमा पत्रकार सम्मेलन गरी भारत, बङ्गलादेश, श्रीलङ्का र कम्बोडियाबाट आठ वटा पार्टीका १५ जना पाहुना महाधिवेशनमा उपस्थित हुने पक्का भएको बताएको हो । यसका साथै २५ देशबाट महाधिवेशनका लागि शुभकामना सन्देश प्राप्त भएको एमाले विदेश मामिला विभागका प्रमुख तथा महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा. राजन भट्टराईले जानकारी दिएका छन ।