लौ अब दसैँ आएछ : सीता घिमिरे (कविता )

लौ अब दसैँ आएछ : सीता घिमिरे (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असोज २३।

असार, साउन र भदौरे झरिको
त्यो चपेटामा चिटिक्क पारेर
सम्हालेर राखेको पर्दा
सर्लक्क खोले जस्तो
आँखाले हेरे जसरी हिमाली शिखरहरु
त्यो हरिया पहाडहरु हाँसेको
मन्द तरिकाले चुम्मन गरिरहेको !

समथर फाँटहरु
सरदको त्यो मिर्मिरेमा
किरणहरु छर्दा
उकुसमुकुस भएको यो मेरो मन
बल्ल थाहा पाँउछ दसैं आएको ।
प्राकृतिक प्रकोपमा पनि
हरियाली बाताबरणमा
नेपाल कताकता हाँसिरहेको,
यो सान्तभूमिमा
चराचुरुङ्गीको चिर्बिर चिर्बिर आबाजमा
ससाना बालबालिकाहरुको
त्यो खुसिका आवाजहरू
रङ्ग र उमंग घोलेर
घरको बार्दलिमा
फूलेका थुङे थरिथरिका
फूलहरुको सुबास कति मिठो !
प्राकृतिक मनले गाउँ तथा सहरहरु
कताकता रंगीचंगी भएका खुशीहरु
सम्झिदा मलाई त
लौ ! अब दसैँ आएछ जस्तो लाग्ने,
आमाले दसैँलाई राखेको
काक्रोको फल पनि
पहेँलो अनि पट्पटि फुटेको
स्वादिलो अचार सम्झदा
बल्ल थाहा भो मलाई दसैँ आएछ !
छरछिमेकि सबै मिलेर
रातो माटो खनेर
टाढाबाट बोकेर ल्याइ
घर पोतेर चिटिक्क हुदै गर्दा,
आफ्ना घर वरिपरि
सिस्नोको झाडी
फाडफुड गरेर
उजाड पार्दा
सुन्दर देखिएको
सधै हिड्ने बाटो
चौतारी तथा पधेँरो
कति राम्रो देखिएको ,
सधै पढ्ने स्कुल पनि चिटिक्क परेको
केटाकेटी बुरुक्क उफ्रिइ खेलेको
देख्दा मन झसङ्ग भएर
सोचिरहेछ साच्चै दसै पो आएछ !
शहर बजारमा दसैँको लागि भन्दै
सपिङ्ग गरेको देख्दा
झनै नजिक आए जस्तो पो,
बुवा आमाले दसैँको लागि
जोडजाम गरेको चानचुन पैसाहरु
छाम्न पाउदा
मेरो सानो बहिनी खुशी भएको देख्दा
दसैमा लगाउने नयाँ कपडा
राखेको सुर्केसमा
दसैको नबमिको दिन
आउन कति छ भनेर
औला भाच्दा
झसङ्ग भइ साच्चै
दसैं आएछ जस्तो हुने,
मनका पिडाहरु
सबै छाडेर माथिको
निलो आकाशका ताराहरुलाई हेर्दा
चिसो त्यो हावा चल्दा
गाउँघर शहरमा पो
बल्ल दसैं आएछ !
शहर पढ्न बसेका छोराछोरी
गाउमा फर्किन्छन
बिदेशमा भएको
पल्लो घरको साइलाको छोरा
तल्लो घरको माइलाको छोरा
घर फर्किन्छन भनी दिन गनेर बस्ने
बुवाआमामा खुसिको त्यो मुहार देख्दा
लौ बल्ल दसैं पो आएछ जस्तो हुने !
खुशी रुप उमंग
त्यो जाँतोमा पिसेको
चामलको रोटी खाँदा
बल्ल दसैको झल्को,
केटाकेटीले बाटेको
त्यो बाबियोको पिङ
सुइय र हुर्र सररर गरि खेलेको
आवाज सुन्दा
लाग्छ मलाई दसै आएछ !
टीकाको साइत कुरेर
नवांै दिनदेखि
दसौं दिनमा प्रवेश गर्दा
लामो भएका पहेला जमरा देख्दा
फर्केर केराको बोटमा
पहेंलो पाकेको केरा हेर्दा
लाग्छ मलाई दसैं आएछ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।