देशको गीत :त्रिलोचन आचार्य (कविता)

कपन अनलाइन

काठमाण्डौ ,असोज २३।

यो छन्द टिप्दै म स्वछन्द जाऊँ
साहित्यको फाँटतिरै रमाऊँ
झर्नाहरूझैँ म प्रफुल्ल होऊँ
विश्वासका भाव समस्त फोऊँ ।।१।।

यी ताल खोला खहरे समान
दौडौँ म टेक्दै मनका उठान
हाँस्दा हिमाली चुचुरा म हासूँ
पंक्षीहरू गीत भरून् म नाचूँ ।२।

नानीहरूका दिलझैँ पवित्र
संसार चोखो भरियोस् म भित्र
उद्यान होस् देश म फूल बन्छु
बाँडौँ सदाचार म मूल बन्छु ।३।

यो देश भर्ने सपना म देखूँ
आस्था उमार्ने रचना म लेखूँ
सत्कर्म गर्दै म यहीँ रमाऊँ
नेपाल छाडेर कतै नजाऊँ ।४।

माटो सधैँ पुज्न सकूँ म एक
बाटोहरू खोल्न सकौँ अनेक
दारिद्रताको भय तोड्नलाई
कर्तव्यका मार्ग हिडौँ रमाई ।५।

अन्यायको खै अवशेष छैन
भन्ने छ धोको भय लेश छैन
स्वतन्त्र छौँ कत्ति निषेध छैन
बैरीहरू निम्ति प्रवेश छैन ।६।

यो देश मेरो सुख स्वर्ग धाम
यैँ खुल्छ मेरो पहिचान नाम
अग्ला हिमाली चुचुरा समान
चम्की रहूँ साँझ तथा बिहान ।७।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।