काठमाडौंमा तेश्रो मोटरसाइक्लिङ सम्मेलन सम्पन्न

काठमाडौंमा  तेश्रो मोटरसाइक्लिङ सम्मेलन सम्पन्न

कपन अनलाइन

काठमाडौं असोज १८ । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) को आयोजनामा शुक्रबार र शनिबार तेश्रो मोटरसाइक्लिङ सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । सुरक्षा लुब्रिकेंटको मुख्य प्रायोजन रहेको उक्त कार्यक्रममा सेफ्टी, सस्टेनबिलिटी एण्ड टु ह्वील टूरिङ शीर्षकमा भएको उक्त सम्मेलनमा १५० भन्दा बढीको सहभागिता रहेको थियो। यो सम्मेलनका लागि माउन्टेन स्पोर्ट्स फेडेरेसनको संयोजन तथा फेडेरेसन इन्टरनेसनल डे मोटरसाइक्लिज्म (एफआईएम) र नेपाल पर्यटन बोर्डको सहयोग तथा प्रमोशन रहेको थियो । नेपलमा मोटरसाइकल र स्कुटरको संख्या ३० लाख भन्दा धेरै रहेको, तिनको सुरक्षा र त्यसबाट हुने फाइदाको बारेमा एकीकृत धारणा बन्न नसकेको अवस्थामा सम्मेलनमा वृहत छलफल गरिएको थियो ।

सम्मेलनमा मुलतः मोटरसाइकल सुरक्षा, मोटरसाइकल मार्फत पर्यटन प्रवद्र्धन क्षेत्रीय इभेन्ट मार्फत टु ह्वील टुरिङ, महिला सशक्तिकरणको लागि मोटरसाइकल, पर्यटन बोर्ड र साहसिक पर्यटनमा सहकार्य, टु ह्वील टूरिङका प्रस्तावित गन्तव्यहरु, टूरिङ मार्शलिङ, लाइसेन्सिङ व्यवस्था, हेल्मेट टेस्टिङ र गुणस्तरीय हेल्मेट, एफआईएम, नासा नेपाल र डब्ल्यूआईएमए नेपाल, मोटरसाइकल स्पोर्ट्स र नेपाल जस्ता विषयमा छलफल गरिएको थियो । साथै कार्यक्रममा नेपालका दुई दर्जन टु ह्वील टूरिङका गन्तब्य सार्वजनिक गरिएको थियो ।

सम्मेलनमा राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा माउन्टेन स्पोर्ट्स फेडेरेसनका अध्यक्ष गोविन्द भट्टराई, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर, ट्रयाक्स एनजीओ नयाँ दिल्लीकी रजनी गान्धी, पुत्रा युनिभर्सिटी मलेसियाका डा. कुलान्थान मणि, एफआईएमका डाइरेक्टर डामिआनो जमानाले आ–आफ्नो पेपर प्रस्तुत गरेका थिए। त्यसैगरी, नेपाल पर्यटन बोर्डका सदस्य न्वाङ्ग निमा शेर्पा, नासा नेपालका महासचिव सुशील तण्डुकार, सचिव सन्तोष न्यौपाने, प्रमोद श्रेष्ठ गुफी तथा विनोद तन्डुकार, विमा नेपालकी सुनिता देशार र सुरक्षा लुब्रिकेंन्का मार्केटिङ म्यानेजर अनोज भण्डारीको प्रस्तुति रहेको थियो ।

सो सम्मेलनमा टु ह्वील टूरिङका व्यावसायी र गाइड, पर्यटन व्यवसायी, राइडर तथा विभिन्न ट्राभल एजेन्सीका संचालकहरु तथा नासा नेपालका सदस्यहरु सहभागी रहेका थिए । सम्मेलनको पहिलो सत्रमा नेपालमै पहिलो पटक टुरिङ्ग मार्शलको तालिम तथा परीक्षा पनि लिइएको थियो ।त्यसैगरि कार्यक्रमको अन्त्यमा स्लो बाइक रेसिङ प्रतियोगिता आयोजना गरेर बिजेतालाइ सुरक्षा लुब्रिकेंटका प्रबन्ध निर्देशक फुर्वा लामाबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । प्रतियोगितामा राजकुमार कार्की, लोप्साङ लामा, गोविन्दराज जोशी, कन्चन विष्ट र तेन्जिङ धोन्देन विजयी भएका थिए ।

तपाइँको प्रतिक्रिया ।