बागमती खेलकुद परिषदले प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गर्ने

बागमती खेलकुद परिषदले प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गर्ने

कपन अनलाइन

काठमाण्डौ ,असोज ७।

बागमती प्रदेश खेलकुद विकास परिषद्ले विभिन्न ४ खेलको प्रशिक्षक प्रशिक्षण कार्यक्रमका लागि सहयोग गर्ने भएको छ । ब्याडमिन्टन, एथलेटिक्स, रग्बी र आईटीएफ तेक्वान्दोको प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्न परिषद्ले सहयोग गर्ने भएको हो ।
सो सम्बन्धी सम्झौता पत्रम परिषद् र सम्बन्धित खेलका राष्ट्रिय संघबीच बुधबार हस्ताक्षर भयो । परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी, ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङ, रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ र आईटीएफका अध्यक्ष अञ्जन धमलाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
ब्याडमिन्टनको कात्तिक ५ देखि ६ गतेसम्म तथा एथलेटिक्सको असोज ९ देखि १३ गतेसम्म काठमाडौंमा प्रशिक्षण हुने छ । चितवनमा असोज १९ र २० गते रग्बी तथा रामेछापमा असोज १६ र १७ गते रामेछापमा प्रशिक्षण हुने भएको  छ । चारै खेलको प्रशिक्षणका लागि परिषद्ले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
सदस्य–सचिव भण्डारीले दक्ष खेलाडी उत्पादन गर्न दक्ष जनशक्ति आवश्यक हुने भएकाले प्रशिक्षण कार्यक्रममा जोड दिइएको बताउदै प्रतियोगिता र पूर्वाधारसंगै प्रशिक्षकको स्तरबृद्धिमा पनि उत्तिकै ध्यान दिनु पर्ने आवश्यकता औल्याए । उनले आगामी दिनमा आवश्यकता अनुसार कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय खेल संघलाई जिम्मेवार बनाउन संघसंग सहकार्य गरेर कार्यक्रम आयोजना गरिएको बताए ।
रग्बी अध्यक्ष घिसिङले प्रशिक्षक उत्पादनका साथै उनीहरुको स्तरबृद्धि गर्न कार्यक्रम महत्वपूर्ण साबित हुने विश्वास व्यक्त गर्दै सहकार्यका लागि परिषद्लाई धन्यवाद दिए । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुभाष श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।