काभ्रेपलाञ्चोक जिल्लाका मृर्गौला बेच्नेहरू परिवारबाट नै बहिष्कृत हुँदै

काभ्रेपलाञ्चोक जिल्लाका मृर्गौला बेच्नेहरू परिवारबाट नै बहिष्कृत हुँदै

बनेपा, २७  फागुन । काभ्रेपलाञ्चोक जिल्लामा गरिवीका कारण मृगौला बेच्न बाध्य भएकाहरू आफ्नै परिवारबाट बहिष्कृत हुन थालेका छन् ।
मृगौला बेचेर बनेको घाउका कारण देखिएको मानसिक पीडा त उनीहरूलाई छँदैछ त्यसमाथि आफ्नै परिवारले बहिष्कृत गरेपछि पीडितहरू घर न घाट भएका छन् ।

Kidny
“जुन दिन मैले मृगौला बेचेर आएँ त्यही दिनदेखि मलाई परिवारले छोडेर गए”, जिल्लाको ज्याम्दी गाविस–७ का माधव पराजुलीले भन्नुभयो ।
उहाँ ज्याम्दी गाविसस्थित घरमा एक्लै जीवन बिताइरहनुभएको छ भने श्रीमती र चारजना छोराछोरी भक्तपुरस्थित ठिमीमा किराना पसल सञ्चालन गरेर जीवन निर्वाह गरिरहेको पराजुलीले बताउनुभयो ।
कहीलेकाँही माइली छोरी अम्बिका भेटन आउँछिन् तर परिवारका अन्य सदस्यसँग भेटन नपाएको बर्षाँै भइसक्यो, उहाँ भन्नुहुन्छ ।
२०६७ सालमा गरिवीका कारण मृगौला बेच्नुभएका पराजुली झण्डै ६ वर्षदेखि एक्लिएको र अहिले बिहान, बेलुका हातमुख जोर्न पनि गाह्रो भएको उहाँ बताउनुहुन्छ ।
म परिवारसँग भेट्न गएँ भने मलाई जेठानहरूले कुटछन्, त्यसैले म त्यहाँ जाँदिन पराजुली भन्नुहुन्छ । उहाँको छजनाको परिवार थियो ।
पराजुलीले आफूुले रु ९० हजारमा मृगौला बेचेको तर रु ३५ हजार मात्रै पाएको उल्लेख गर्दै ठगी गर्ने दलाललाई सरकारले पक्राउ गरेर कारबाही गरे हुन्थ्यो भन्नुहुन्छ ।
उहाँ मृगौला बेचेको कारण बहिष्कृत भएको प्रतिनिधि पात्र मात्रै हो उहाँजस्ता अन्य पीडित पनि यो समस्याबाट गुज्रिएको अनुमान छ ।
ज्याम्दीकै ३१ वर्षीय गणेश परियारले साथीको लहैलहैमा लागेर मृगौला बेचेको उल्लेख गर्दै त्यसबाट आएको रकमले आधा रोपनी जमिन किनेको जिकिर गर्नुहुन्छ ।
पहिले यस्तो होला भन्ने थाहा भएन, अहिले आएको समस्याले ब्यर्थै त्यस्तो काम गरिएछ भन्ने हुन्छ, उहाँको भनाइ छ ।
केही वर्षअघि ‘बैंक अफ किड्नी’ (मृगौला बैंक) भनेर देश–विदेशमा प्रचारमा ल्याइएको काभ्रेपलाञ्चोकमा २० वर्ष अघिदेखि मृगौला बेचविखन भएको पाइएको छ । सुरुमा काभ्रेपलाञ्चोकको होक्से र ज्याम्दी गाविसका करिब १०८ जनाले मात्रै मृगौला बेचेको अनुमानित तथ्याङ्क छ र त्यसबाट अहिले जिल्लाका १० गाविस प्रभावित भएको अनुमान छ ।
मृगौला बेच्ने क्रम नरोकिएपछि जिल्लास्थित गैरसरकारी संस्था जनअधिकार संरक्षण मञ्च (पिपिआर)ले मृगौला बेच्नेको तथ्याङ्क सङ्कलन गरी उनीहरूको अवस्थाबारे अनुगमन गरिरहेको छ । प्रारम्भिक अनुगमनमा काभे्रका ३०० जनाले मृगौला बेचेको पाइएको छ । युवराज पाण्डे, रासस

तपाइँको प्रतिक्रिया ।