काठमाडौंमा मात्र दश हजार प्रहरी परिचालित

संविधान घोषणा गर्ने समय नजिकिँदै गर्दा देशभरको सुरक्षास्थितिमा कडाई गरिएको छ । सबै नागरिकका आँखा अहिले संविधानसभामा केन्द्रित भएका छन् । कतिपय समूह र संस्थाहरु आफू अनुकूलको संविधान जारी गराउन दबाब दिने उद्देश्यले बानेश्वर क्षेत्रमा केही दिनदेखि नै प्रदर्शन गरिरहेका छन् । बानेश्वर क्षेत्रमा प्रदर्शन गर्नेहरुको संख्या हिजोबाट ह्वात्तै बढेको छ । संविधानसभा भवन आसपासको ठाउँ ढाकिने गरी धर्ना र प्रदर्शन गरिएका छन् । धर्ना र प्रदर्शन बढेपछि संविधानसभा भवन आसपासको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । काठमाडौंमा मात्र दश हजारको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सुरक्षाकर्मीले निषेधित क्षेत्रमा काँडेतार र घेरा हालेका छन् । संवेदनशील क्षेत्रहरु, सरकारको मूख्य प्रशासनिक भवन सिंहदरवार, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपति कार्यालय, शितलनिवास क्षेत्रमा सुरक्षा बढाइएको छ । चोक–चोकमा सुरक्षा निकायको बलियो उपस्थिति छ ।
जेठ १४ मा संविधान जारी गर्ने समय नजिकिँदै गर्दा हुनसक्ने सम्भावित परिस्थितिलाई ध्यानमा राखेर नेपाली सेना पनि सधैझै उच्च सतर्कतामै रहेको सैनिक स्रोतले जनाएको छ । नेपाली सेनाका प्रवत्ता रमीन्द्र क्षेत्रीले नेपाली सेना सधै चनाखोमा अवस्थामा रहने भन्दै विशेष परिस्थितिमा थप चनाखो हुनु अस्वाभाविक नभएको टिप्पणी गर्नुभएको छ ।

यसैबीच, सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै आज साझ देखि काठमाण्डौ उपत्यकामा मदिरा विक्रि वितरण र सेवनमा रोक लगाइएको छ । काठमाण्डौ जिल्ला सुरक्षा समितिले मदिरा विक्रि वितरण र सेवन गरेको पाइए कडा कारवाही गर्ने जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।