काठमाडौँ उपत्यकामा तालिम, सेमिनार, बैठक तथा कार्यक्रम गर्न नपाइने

कपन अनलाइन

काठमाण्डौ ,साउन २०।

काठमाडौँ उपत्यकामा तालिम, सेमिनार, कार्यक्रम , बैठक तथा गोष्ठी भर्चुअल माध्यमबाट मात्रै सञ्चालन गर्नका लागि  प्रशासनले  आदेश जारी गरेको छ ।

कोभिड–१९ को सङ्क्रमण बढ्न थालेकाले २०७८ साउन २१ देखि २७ गतेसम्म थपिएको निषेधाज्ञामा प्रत्यक्ष सहभागी भएर गरिने यस्ता कार्यक्रममा रोक लगाइएको हो ।

यसअघि गोष्ठी, तालिम, सेमिनार, बैठक तथा प्रशिक्षणजस्ता कार्यक्रम उपस्थित भएरै गर्नुपर्ने भएमा २५ जनाभन्दा बढी नहुने गरी सञ्चालन गर्न अनुमति दिइएको थियो ।

मापदण्ड उल्लङ्घन हुँदा जोखिम बढ्न थालेको उपत्यका प्रशासनको निष्कर्ष छ । उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित साउन १९ गतेको बैठकले उक्त आदेश जारी गरेको हो ।

आदेशमा कोभिड–१९ को लक्षण देखिएका तथा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिलाई नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको एन्टिजेन तथा पिसिआर परीक्षणका लागि सम्बन्धित स्थानीय तह, जिल्ला अस्पतालसँग सम्पर्क गरी परीक्षण गराउन र भीडभाडबाट बच्न पनि  अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।