लुम्बिनीमा विपक्षी गठबन्धन द्वारा नयाँ सरकार गठन गर्न माग

लुम्बिनीमा विपक्षी गठबन्धन द्वारा नयाँ सरकार गठन गर्न माग

कपन अनलाइन

काठमाण्डौ ,साउन १८।

लुम्बिनी प्रदेशमा कांग्रेससहितका विपक्षी गठवन्धन दलका सांसदहरुले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखसँग आग्रह गरेका छन् ।

सोमवार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर दलका सांसदहरुले १६८ को २ अनुसार नयाँ सरकार गठन गर्न समावेदनसहित माग गरेका हुन् । गठवन्धनले मुख्यमन्त्री नेतृत्वको वर्तमान सरकार संविधानको धारा १६८ को उपधारा १ बमोजिम गठन भएपनि सरकार संयुक्त रहेको र त्यो अवैधानिक र अल्पमतमा परेकाले २ बमोजिम सरकार गठन गर्न माग गरेका हुन् ।

विपक्षी गठवन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजबादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले संविधान, मूल्य मान्यता, विधि अनुसार सरकार गठन नभएकाले संविधानको १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि प्रक्रिया अघि बढाउनु माग गरेका हुन् ।

लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता विरेन्द्रप्रसाद कनौडियाले ज्ञापनपत्र बुझाउँदै प्रदेश सभामा कुनै पनि दलको बहुमत नरहेकाले संविधानको १६८ को उपधारा २ बमोजिमको सरकार गठन गर्न माग गर्नुभयो । प्रदेश सभामा विपक्षी गठवन्धनमा रहेका ४१ सांसदले हस्ताक्षर गरेको पत्र समेत बुझाइएको छ ।

लुम्बिनी प्रदेशको संसदीय अंकगणितमा नेकपा एमालेका संसदीय दलका नेता शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेको छ । संसदमा ८७ जना सांसद रहेकोमा कारवाही, राजीनामाले त्यो संख्या घटेर अहिले ८० सदस्यमा झरेको छ । संसदमा नेकपा एमालेका ३८ सांसद छन् । प्रदेश सरकारमा मन्त्री बनेका तीन सांसदको पद जसपाले निलम्बन गरेको छ ।

 

तपाइँको प्रतिक्रिया ।