नेपाल स्काउटको गण्डकी प्रदेश कार्यालय भवन उद्घाटन

नेपाल  स्काउटको गण्डकी प्रदेश कार्यालय भवन उद्घाटन

कपन अनलाइन

गण्डकी,श्रावण १५ । नेपाल स्काउट गण्डकी प्रदेश कार्यालयको भवन उद्घाटन गरिएको छ ।पोखरा महानगरपालिका वडा नं ४ टुँडाकोपाटनमा निर्मित उक्त भवनको विहिबार एक कार्यक्रमबीच नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले भवन उद्घाटन गरेका हुन् ।उद्घाटनपछि बोल्दै भण्डारीले भवन निर्मार्णको काम गरेर गण्डकी प्रदेश समितिले ऐतिहासिक काम गरेको बताएका थिए  । समाज रुपान्तरणमा स्काउटको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै उनले सरकारले पनि स्काउट अभियानको मर्म बुझेर सोही अनुसार बजेटको व्यवस्था गरिरहेको उल्लेख गरेका थिए  । उनले १६ वर्ष मुनिका सबै बालबालिकालाई स्काउटको तालिम गराउनुपर्नेमा जोड दिदैविद्यालय तहमा पुगेर स्काउट अभियानलाई तीव्रता दिन आग्रह गरेका छन ।

 कार्यक्रममा बोल्दै नेपाल स्काउट प्रधान कार्यालय निर्देशक राम प्रसाद भट्टराईले हाल भवन रहेको जग्गा स्काउटको स्वामित्वमा ल्याउने प्रयास भइरहेको बताएका थिए  । सो अवसरमा पूर्व राष्ट्रिय तालिम आयुक्त नारायण पराजुली, पूर्व राष्ट्रिय सचिव हेरम्ब प्रसाद कोईराला, सल्लाहकार शारदा पराजुली लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम गण्डकी प्रदेश संयोजक आशिर्वाद सुवेदीको अध्यक्षतामा भएको थियो ।

यसैबीच गण्डकी प्रदेशका विभिन्न पालिकाका स्काउट संयोजकहरुको शपथग्रहण पनि विहिबार नै सम्पन्न भएको छ । उनीहरुलाई नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले शपथ गराएका हुन् । कार्यक्रममा बोल्दैँ गण्डकी प्रदेशका सांसद राजीव पहारीले यूवाहरुका लागि स्काउट बृहत अभियान भएको बताए ।उनले विभिन्न कठिन परिस्थितिमा समाज सेवाका लागि स्काउट जुझारु रुपले लागिरहेको भन्दै अझ बलियो र संगठित भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए  ।

तपाइँको प्रतिक्रिया ।