गुरू को हुन् ?

गुरू को हुन् ?

कपन अनलाइन

काठमाण्डौ ,साउन ९/हिक्मत डंगोल

गुरू– पूर्णिमा गुरूहरूको आदर– सम्मान गर्ने विशेष पर्व हो । यस पर्वमा गुरूहरूलाई मीठा–मीठा खानेकुरा एवं उपहार दिएर उनीहरूको पूजा गर्ने गरिन्छ । पूजाको कुरा गर्दा कतै मानिसको पनि पूजा हुन्छ र भनेर आश्चर्य लाग्न सक्छ तर आश्चर्य मान्नु पर्ने खास कारण छैन । नेपाली संस्कृति यति महान् छ, जो वर्षको एक पटक कुकुरको पनि पूजा गर्नु पर्दछ भन्ने मान्यता राख्ने गर्दछ भने समाजलाई ज्ञान–ज्योति प्रदान गरी पथप्रदर्शन गर्ने गुरूको पूजा हुनु अस्वाभाविक होइन । हरेक साल असार शुक्लमा पर्ने गुरू पूर्णिमालाई पनि यसै भित्र लिन सकिन्छ । आ–आफ्नो गुरूप्रति विशेष श्रद्धा र आस्था प्रकट गरी गुरूपूर्णिमा मनाउने परम्परा छ । महामानव व्यासको जन्म पनि यसै दिन पर्ने भएकोले यस दिनको महत्व अझै गहन बन्न गएको छ ।

“चिन्तामणि लोकसुखं सुरद्ध स्वर्ग सम्पदम । प्रयच्छति गुरूः प्रीतो बैकुण्ठ योगी दुर्लर्भम” अर्थात वेदव्यास भन्नुहुन्छ –“चिन्तामणिबाट लोकको सुख मात्र पाउन सकिन्छ भने पारिजात वृक्षबाट स्वर्गको सम्पत्ति मात्र पाउन सकिन्छ तर यदि गुरू खुशी भए भने योगीहरूले पनि पाउन नसक्ने बैकुण्ठ नै दिन सक्छन् ।

मानव समाजमा गुरूको महत्व असीमित हुन्छ । जसलाई शब्दद्धारा व्यक्त गर्न सकिन्न । शिक्षाको अभावमा जीवनको लक्ष्य नै अधुरो हुन पुग्दछ । त्यसैले मानवको लागि जन्म दिने बाबु–आमा सरह गुरूको स्थान पनि महत्वपूर्ण मानिन्छ । हाम्रो धर्म शास्त्रले पनि ‘पितृदेवो भव’ र ‘मातृ देवो भव’ को साथमा आचार्य देवो भव पनि उल्लेख गरेर बाबु–आमा सरहको महत्व शिक्षा दिने गुरूलाई पनि प्रदान गरेको देखिन्छ । अझ साँच्चै भने हो भन्ने जन्म दिने बाबु–आमा भन्दा पनि शिक्षा दिएर आँखा उघारि दिने गुरूको स्थान एक पाइलो अगाडि नै रहेको हुन्छ । बाबुले त केवल मानव पिण्डको रूपमा जन्म दिएका हुन्छन् । तर उसलाई पूरा मानव बन्ने र मानवताको सही बाट देखाउने श्रेय गुरूहरू अर्थात ज्ञानदातामा जाने हुँदा यस दिनलाई पर्वको रूपमा मात्र नेपाली परम्पराको वास्तविता अझ स्पष्ट हुन्छ ।

 

हाम्रा प्राचीन महर्षिहरू कम वैज्ञानिक थिएनन् । जसले गुरूको महत्वलाई बुझेर गुरूपूजाको परम्परा चलाएका थिए । तत्कालिन शिक्षा पद्धति पनि कम वैज्ञानिक थिएन् । जुन गुरूकुल शिक्षामा आधारित थियो । त्यसताका विद्यार्थीहरू अत्यन्तै अनुशासित भएर कानून सरह गुरूको आदेशको पालना गर्दथे भने गुरूहरू पनि शिष्यहरूलाई कम माया दिंदैन थिए । अर्थात शिष्यहरूलाई आफ्नै पुत्र सम्मान माया दिदै वास्तविक जीवनको लागि सही मार्ग तथा ठीक–बेठीकको ज्ञान दिन चुक्तैन थिए । जसले गर्दा गुरू शिष्य एक आपसमा अनुपम आनन्दको महसुस गर्दथे । आजको शिक्षा पद्धति र त्यति बेलाको शिक्षा पद्धतिमा निकै भिन्नता पाइन्छ । तर शिक्षा पद्धतिमा भिन्नता आउदैमा गुरूको महत्वमा पनि भिन्नता आएको छ भन्न मिल्दैन ।

आखिर के छैन गुरूमा ? विश्व ब्रम्हाण्ड नै गुरूमा देखिन्छ । र हामीले लिन सकेको खण्डमा विश्व– ब्रम्हाण्डमा भएको सबै चीज गुरूबाट पाउन सकिन्छ । मात्र ध्यान दिनु पर्ने कुरा के छ भने जसरी नदीमा पानी प्रशस्त भएर पनि ल्याउने भाँडो भएन भने पानी ल्याउन सकिन्न उसै गरी गुरूमा प्रशस्त गुण भएर पनि हामीसँग त्यसलाई प्रयोगमा ल्याउने क्षमता वा कला भएन भने त्यसलाई पाउन सक्दैनौं । त्यसैले गुरूमा रहेको ज्ञान भण्डारलाई प्रयोगमा ल्याउन सक्ने कला भने हामीले आफैमा विकास गर्न सक्नुपर्दछ । हाम्रो धर्म–संस्कृतिले गुरूलाई साक्षात परम ब्रम्ह्मकै अवतार मानेको छ । जसले चित्तको तहमा जम्मा भएर रहेको अज्ञान रूपी अन्धकारलाई सदाको लागि हटाउन सक्दछ, वास्तवमा त्यही नै गुरू हो । त्यसैले गुरू भनेको त्यस्तो कुन्जी हो, जसले ज्ञानको बन्द ढोका खोल्न सक्छ, गुरू भनेको त्यस्तो प्रकाशपुञ्ज हो जसले आफना शिष्यहरूको ह्दय ग्रन्थि प्रकाशित गर्न सक्छ । अनि गुरू भनेको त्यस्तो शिखरको नाम हो जहाँबाट संसारलाई चियाउन सकिन्छ ।

यति हुँदा हुँदै पनि तत्कालीन शिक्षा पद्धतिको तुलनामा आजको शिक्षा पद्धति वास्तविकताबाट अलि पर खस्ंिकदै गएको महसुस हुन थालेको छ । विद्यार्थीहरू गुरूहरूको अनुशासनमा बस्न नरूचाउनु र गुरूहरूबाट पनि विद्यार्थी वर्गले पाउनु पर्ने यथोचित माया र शिक्षा पाउन नसक्नु नै आजको शिक्षा पद्धतिको मुख्य कमजोरी मान्नु पर्दछ ।

आजका कलिला विद्यार्थीहरू नै भोलिका देशका राष्ट्रनिर्माता हुन् यदि आजै उनीहरूले बाटो बिराए भने वा उनीहरूलाई सही बाटो देखाउन सकिएन भने देशको अवस्था चौपट बन्न पुग्दछ । गुरू भने जस्तो भए पनि हुन्छ र उसले चाहि जे गरे पनि हुन्छ भन्ने होइन । गुरूले आफु निष्कपट निष्कलंक, लोभ–लाचर रहित हुनुको साथै स्वधर्मको परिचालन गर्ने गरेको हुनु पनि उत्तिकै आवश्यक छ । यदि गुरू धर्मछाडा लोभी र पाखण्डी भइदिए भने त्यस्ता गुरूले आफना शिष्यलाई मात्र होइन पूरा समाजलाई नै नोक्सान पारि दिन्छ । त्यसैले असल गुरूको पहिचान गरी त्यस्ता गुरूको मात्र उपासना गर्ने प्रयास गर्नु पर्दछ । विद्यार्थी भनेका केही सुन्ने, बुझ्ने, जाने र ज्ञान लिने अवस्था हो ।

तसर्थ, हरेक विद्यार्थीले गुरूबाट प्राप्त शिक्षालाई व्यावहारिक जीवनमा सदुप्रयोग गरेर आफूलाई योग्य राष्ट्रसेवक बनाउन सकेमा नै गुरूपूर्णिमा पर्वको उद्देश्य पूर्ति हुने विश्वास लिन सकिन्छ । गुरू पूर्णिमाको पावन पर्वले हामी सबैलाई असल गुरू छान्ने शक्ति प्रदान गरोस शुभकामना छ । यस पर्वको वैज्ञानिक रहस्य पनि यही नै हो भन्न सकिन्छ ।

(हिक्मत डंगोल टोखा लाइभ डट.कम का सम्पादक हुन् )

तपाइँको प्रतिक्रिया ।