आयात गर्न प्रतिबन्ध लगाएको रेडबुल बिक्री गर्ने चार जना पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,साउन ७।

सरकारले आयात गर्न प्रतिबन्ध लगाएको क्याफिनयुक्त रेडबुल बिक्री गरेको अभियोगमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।

महानगरीय अपराध महाशाखाले काठमाडौँका विभिन्न ठाउँमा छापा मार्दा बिक्री गरेको पाइएपछि चार जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा काठमाडौँ गोङ्गबु बस्ने ३६ वर्षीय राजु पौडेल, बबरमहल बस्ने ४४ वर्षीय रबिनराज श्रेष्ठ, निलोपुल बस्ने ३१ वर्षीय धनबहादुर श्रेष्ठ र गोठाटार बस्ने ३६ वर्षीय वीरेन्द्र चौधरी छन् ।

काठमाडौँका चारवटा स्टोरबाट ४ हजार ८ सय ४८ थान रेडबुल र बिक्रिवितरण गरिरहेको अवस्थामा बा २१ च १२५ नम्बरको टाटा पिकअप भ्यान नियन्त्रणमा लिईएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) चन्द्र कुवेर खापुङले बताए ।

२०७६ असारमा प्रकाशित राजपत्र भाग-५ मा क्याफिनयुक्त शक्तिवर्द्धक पेयपदार्थ विक्री, वितरण बन्देज गरिएको छ ।

देशभर सर्वसुलभ रूपमा पाइने रेडबुल प्रतिबन्धित भएको हुनाले बेच्न नमिल्ने अपराध महाशाखाले जनाएको छ । पक्राउ गरिएका आरोपीहरूले भारतबाट त्यस्ता पेय पदार्थ ल्याएर बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

पक्राउ गरिएकाहरूलाई थप अनुसन्धान र कारबाहीका लागी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाइने एसएसपी खापुङले बताए ।

तपाइँको प्रतिक्रिया ।