आइतवार जनकपुर–जयनगर रेलको दोस्रो परीक्षण हुने

कपन अनलाइन

काठमाण्डौ ,साउन १।

जनकपुर–जयनगर रेलको दोस्रो परीक्षण आइतबार हुने भएको छ । आइतबार हुने दोस्रो परीक्षण प्रतिघण्टा एक सय २० किलोमिटरको गतिमा हुने भएको हो ।

रेल सञ्चालनको पूर्वतयारीको शिलशिलामा रेल्वे ट्रयाकको स्पीड टेस्ट र सर्टिफिकेसन गर्ने काम आइतबार हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिएका छन् । भट्टराईले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै रेल्वे लिकको स्पिड र सर्टिफिकेसन गर्ने काम हुने जानकारी गराएका हुन् । महाप्रबन्धक भट्टराईका अनुसार भारतको इष्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा स्पिड टेस्ट गरिनेछ ।

महाप्रबन्धक भट्टराईले सामाजिक सञ्जानलमा लेखेका छन्— ‘स्पीड टेस्ट गर्दा रेलको स्पीड एक सय २० किमी प्रतिघण्टा हुने भएकोले रेल्वे ट्रयाकमा सुरक्षा महत्त्वपूर्ण हुन्छ । त्यसैले आइतबार रेल्वे ट्रयाक वरपरका आम नागरिकलाई ट्रयाकमा मान्छे, गाई, भैँसी, चौपाया, साइकल मोटरसाइकल, बालबच्चा नछोड्न र ट्रयाकबाट दुरी कायम गरिदिन अनुरोध गरिन्छ ।’

 

तपाइँको प्रतिक्रिया ।