चरम संकटमा कपन जोरधारा खानेपानी संरक्षण संस्था,सरोकारवालाको उदासिनता

चरम संकटमा कपन जोरधारा खानेपानी संरक्षण संस्था,सरोकारवालाको उदासिनता

कपन अनलाइन

काठमाण्डौ ,साउन १।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको कपन जोरधारा खानेपानी संरक्षण संस्था चरम संकटमा परेको छ। एक हजार भन्दा बढी घरधुरीहरुलाई खानेपानको सेवा उपलव्ध गराईरहेको सो संस्थाले अहिले केहि दिन देखि पानी वितरण बन्द गरेको छ।

कपन जोरधाराको मुख्य बोरिङमा पानी तान्ने मेसिन फसेपछि अहिले खानेपानी निकाल्ने काम पूर्ण रुपमा बन्द भएको छ भने सानो प्राविधिक त्रुटीले पनि पुरै बोरिङ नै बन्द हुने जोखिममा सो संस्था पुगेको छ।

कपन क्षेत्रमा रहेको खानेपानीको चरम अभावलाई पूर्ति गर्नका लागि भागवत सप्ताह मार्फत रकम संकलन गरेर शुरुवात गरिएको मिनी मेलम्चीका नामले पनि चिनिने सो संस्था चरम संकटमा पर्दा सरोकारवाला निकाय भने उदासिन देखिएका छन।

वडा नं १० ,११ र १२ का एक हजार भन्दा माथि घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित भैरहेको सो योजनाको दिगोपन र व्यवस्थापनका लागि स्थानीय सरकार ,प्रदेस सरकार र संघीय सरकारले तात्कालिक सहयोग बाहेक दिर्घकालिन योजना भने हाल सम्म बनाएको देखिदैन।

कपन क्षेत्रमा मेलम्ची खानेपानीको पाइप लाइन विस्तार र वितरण शुरु भए संगै सरोकारवालाहरुको नजरमा कम पर्न थालेको यस संस्थाले पनि दिर्घकालिन भन्दा कामचलाउ योजनाका लागि बजेट माग्दा निकै महत्वपूर्ण संस्थाको अस्तित्व नै संकटमा पर्ने आंकलन गर्न थालिएको छ।

पटक पटक विभिन्न ठाउमा बोरिङ गर्दै निकै अफ्ट्यारो अवस्थामा खानेपानी जस्तो अति आवस्यक सेवा दिदै आएको कपन जोरधाराको संरचनालाई आगामी दिनमा पनि उपयोग गर्ने योजना बनाएर तत्काल बैकल्पिक उपाय अपनाएर भएपनि खानेपानी वितरण सुचारु गर्नुपर्ने देखिन्छ।

मासिक राम्रै रकम बुझाउदा पनि नियमित खानेपानी प्राप्त गर्न नसकेका हजारौ उपभोक्ताहरुको आक्रोस बढ्दै जादा यसले निकै अप्रिय अवस्था समेत आउन सक्ने तर्फ सचेत रहनुपर्ने एक उपभोक्ताले बताएका छन।

अहिले बोरिङमा मेसिन फसेको र निकाल्ने प्रयास भैरहेको बताउदै  संस्थाका अध्यक्ष ठाकुर प्रसाद खकुरेलले मेसिन निकाल्न सके तुरुन्त खानेपानी वितरण गर्न सकिने बताएका छन। यसका लागि तिन वटै वडाका जनप्रतिनिधिहरु संग छलफल गरेर थप प्रयास गर्ने बताउदै खकुरेलले  उपभोक्ताहरुलाई प्राविधिक समस्या बुझी दिनका लागि आग्रह गरेका छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।