बुढानिलकण्ठ -१२ मा दुई दिने कौशी खेती तालिम शुरु

कपन अनलाइन

काठमाण्डौ ,असार १७।

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर–१२ को सहयोग तथा सर्वगणेश महिला समूह कपनको आयोजनामा दुई दिने कौशी खेती तालिम शुरु भएको छ।

सर्वगणेश महिला समूहकी अध्यक्ष सावित्रा ढकाल भट्टराईको सभापतित्वमा शुरु भएको उक्त तालिमको उद्घाटन बुढानिलकण्ठ नगरपालिका–१२ का अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि शम्भुप्रसाद भट्टराईले गरेका थिए ।

कौशी खेती तालिम कार्यक्रममा वडाको महिला सञ्जाल अन्तर्गतका ३० वटासम्म महिला समूहबाट १ सय ३० भन्दा बढी महिला र पुरुषको सहभागिता रहेको छ ।

 

बुढानिलकण्ठ वडा नम्बर–१२ का सात वटा टोलसुधार समितिका तर्फबाट प्रतिनिधित्व गर्दै राधाकृष्ण टोलसुधार समितिका अध्यक्ष रत्नप्रसाद उप्रेतीले कुकुर पालेर बाटो–बाटोमा दिसापिसाब गराउँदै हिँड्ने शहरियालाई वडाले कारबाही गर्नुपर्ने बताएका थिए ।

अनुपमा सुवेदीको स्वागत मन्तव्य रहेको  कार्यक्रममा वडा सदस्य पुरुषोत्तम नेपाल, महिला सञ्जालकी अध्यक्ष सुनिता श्रेष्ठ, समाजसेवी सुन्दर चालिसे, वडा सदस्य शान्ता पुडासैनी लगायतले कौशी खेतीको महत्त्वका बारेमा प्रकाश पारेका थिए।

असार १९ गतेबाट शुरु भएको कौशी खेती तालिम कार्यक्रम दुई दिनसम्म चल्ने छ। तालिम समापनको अवसरमा कौशी खेतीलाई निरन्तरता दिन चाहने १ सय जना महिलालाई न्यूनतम मूल्यमा १–१ वटा कम्पोस्ट बिन उपलब्ध गराइने आयोजकले बताएका छन्। १ सयभन्दा बढी महिलाले कौशी खेतीमा रुची देखाएको खण्डमा थप ५० वटा कम्पोस्ट बिन उपलब्ध गराउन वडा कार्यालय तयार रहेको अध्यक्ष शम्भुप्रसाद भट्टराईले बताए।

प्रशिक्षक बाबुराम चौलागाईंले दिइरहेको प्रशिक्षण घटराज मेमोरियल स्कूलको सभाहलमा सञ्चालित यस कौशी खेती तालिकको दोस्रो दिन वरिष्ठ कृषि विशेषज्ञले कौशी खेतीबारे विशेष जानकारी गराउने आयोजकले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।