विश्व बिजेता फ्रान्स युरो कप बाट बाहिरियो

कपन अनलाइन
काठमाण्डौ ,  असार १३।

१६ औं संस्करणको युरोकप फुटबलमा  फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ । रोमानियामा सोमबार राति भएको प्रि-क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो ।

खेलमा सुरुवाती अग्रता स्विट्जरल्यान्डले बनाएको थियो । खेलको १५ औं मिनेटमा स्टेभन जुबरको पासमा हरिस सेफेरोभिचले हेडरमार्फत गोल गर्दै स्विट्जरल्यान्डलाई १-० गोलको अग्रता दिलाएका थिए । खेलको ५७ औं मिनेटमा एमबाप्पेको पासमा करिम बेन्जिमाले गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ५९ औं मिनेटमा एन्टोनियो ग्रीजम्यानको पासमा बेन्जिमाले हेड मार्फत व्यक्तिगत दोस्रो गोल गर्दा फ्रान्सले २-१ को अग्रता बनायो । खेलको ७५ औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै फ्रान्सलाई ३-१ गोलको अग्रता दिलाए । खेलको ८१ औं मिनेटमा केभिनको पासमा स्विट्जरल्यान्डका सेफेरोभिचले हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए । त्यसपछि खेलको ९० औं मिनेटमा स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिचले गोल गरेपछि खेल ३-३ गोलको बराबरीमा सकियो । र, खेल अतिरिक्त समयमा गएको थियो । शाकिरीको स्थानमा ७४ औं मिनेटमा मैदान प्रवेश गरेका उनले कप्तान ग्रानिटको पासमा गोल गरे ।

खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा स्विट्जरल्यान्डले बाजी मार्यो । पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गरे । तर, केलियन एमबाप्पे पेनाल्टीमा गोल गर्न चुके । एमबाप्पेको प्रहार स्विट्जरल्यान्डका गोलकिपर यान सोमेरले बचाए ।

स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन, अकान्जी म्यानुएल, रुबेन भेर्गास र एडमिर मेहमेदीले पेनाल्टीमा गोल गरे ।यससँगै स्विट्जरल्यान्ड क्वाटरफाइनलमा पुग्ने छैटौं टिम बनेको छ । विश्व विजेता फ्रान्स भने राउण्ड अफ १६ बाट बाहिरिएको छ ।

तपाइँको प्रतिक्रिया ।