मनसुन थप सक्रिय बन्दै ,पाँच प्रदेशमा भारी वर्षा हुने

कपन अनलाइन
पर्सा,  असार १३।

बुधबार (भोलि)बाट मनसुन थप सक्रिय हुने भएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहने हुनाले मनसुन सक्रिय हुने भएको हो ।

मनसुन थप सक्रिय हुँदा प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आज एक विवशेष बुलेटिन जारी गर्दै मनसुन थप सक्रिय हुँदा प्रदेश १, प्रदेश २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा  भारी  र धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ  ।

उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यसअघि मनसुन सुरु हुनबित्तिकै सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची नदीमा लेदोसहित आएको बाढीले ठूलो परिमाणमा जनधनको क्षति गरेको थियो । ठूलो परिमाणमा जनधनको क्षति पुग्दा सयौं परिवार विस्थापित हुनुका साथै घरबारबिहीन भएका छन् ।

यसैबीच, आज बिहाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका केही स्थानमा पानी परिरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

 

तपाइँको प्रतिक्रिया ।