कङ्ग्रेस, एमाले र वैद्य पक्षद्वारा सरकारविरुद्ध अविश्वासको प्रस्ताव

 काठमाडौं, जेठ १३- नेपाली कङ्ग्रेस, एमाले र माओवादीको वैद्य पक्ष वर्तमान  अविश्वासको प्रस्ताव ल्याउने तयारीमा जुटेका छन्। उनीहरु अहिले आ-आफ्ना सभासदलाई यस्तो प्रस्तावको समर्थनमा हस्ताक्षर गर्ने प्रक्रियामा लागिसकेका छन्।
यस क्रममा कङ्ग्रेसले सय जना जतिको हस्ताक्षर गराइसकेको छ भने बाँकीलाई पनि हस्ताक्षरका लागि संसदीय दलको कार्यालयमा उपस्थित हुन खबर गरिरहेको छ। उता माओवादीको वैद्य पक्षमा यसको नेतृत्व पम्फा भुषाललगायतले गरिरहेका छन्। वैद्य पक्षले हिँजै यसबारे प्रयास थालेको थियो। तर पुरानो हस्ताक्षरको गलत प्रयोग हुन थालेको भन्दै केही सभासदले आपत्ति जनाएपछि आज पुन: नयाँ प्रयास थालिएको हो।

उता आजै सम्पन्न एमाले संसदीय दलको बैठकमा पनि हस्ताक्षर अभियान सुरु गरिन लागेको थियो। तर सभासदहरुले किन भनेर सोधेपछि एमाले अध्यक्ष झलनाथ खनालले अविश्वासको प्रस्तावका लागि पनि हुन सक्छ भनेका थिए। त्यसपछि उक्त प्रयास रोकिएको थियो।

जातीय नेताहरुले भने अविश्वासको प्रस्तावलाई विभिन्न दलका जातीय नेताबीच अहिले बनेको गठबन्धन तोड्ने षडयन्त्र भनेका छन्।

तपाइँको प्रतिक्रिया ।