चारदलको बैठक बालुवाटारमा सुरु

काठमाडौ, जेष्ठ १३ – प्रमुख तीन दल र मधेशी मोर्चा सहितको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । डेढबजेबाट संविधानसभा भवनमै बैठक बस्ने भनिएपनि बानेश्वर क्षेत्रमा जनजातिको धर्ना जारी रहेका कारण बैठक बालुवाटरमै बसेको हो । यसअघि बिहान माओवादी,कांग्रेस र मधेशी मोर्चाबीच दुईपक्षीय तथा त्रिपक्षीय बैठक भएको थियो । एमाले नेताहरु बैठकमा नपुगेपछि चार पक्षीय बैठक अपरान्हलाई तोकिएको थियो ।

बैठकमा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ, कांग्रेसबाट सभापति सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेल, एमालेबाट अध्यक्ष झलनाथ खनाल, माधव नेपाल, केपी ओली र विद्या भण्डारी, तथा मधेशी मोर्चाबाट महन्थ ठाकुर, विजय गच्छदार, राजकिशोर यादव, महेन्द्र यादव र राजेन्द्र महतो सहभागी छन् ।

संविधानसभाको म्याद सकिन एक दिन मात्र बाँकी रहँदा नेताहरु सहमतिको अन्तिम प्रयासका लागि छलफललाई तिब्र बनाएका छन् । बिहान बैठपछि स‌ंचारकर्मीस‌ंग स‌‌ंक्षिप्त कुरा गर्दै तमलोपा अध्यक्ष महन्थ ठाकुरले संविधान भोलि आउने विश्वास व्यक्त गरे । उनले भने–’ढुक्क हुनुस भोलि संविधान आउँछ,यो भन्दा बढी नसोध्नुस ।’  एमालेका नेता नआएकाले चार पक्षको बैठक बस्न नसकेको हो । यता बैठकमा नआएर एमालेका नेताहरु अविश्वास प्रस्तावको तायरीमा जुटेर गैर जिम्मेवार बनेको आरोप माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आरोप लगाए ।

मिलेको विषयलाई जारी गर्दै बाँकी विषय रुपान्तरित संसद तथा संघीय आयोगबाट समाधान गर्ने प्रस्तावमा दलहरुबीच छलफल भएपनि कुरा मिलिसकेको छैन । माओवादी र मधेशी मोर्चाले संघीयताको विषय संविधानसभाबाटै टुंग्याउनुपर्ने अडान राखेका छन् ।

रातभरि ठण्डा दिमागले सोचेर शनिबार बैठक बस्ने गरी शुक्रबार साँझ बिना कुनै ठोस सहमति चार दलको बैठक स्थगित भएको थियो । आजको छलफल निर्णायक हुने भनिएपनि आ-आफ्नै अडानमा कायम रहेपछि दलहरुबीच कुरा मिल्न सकेको छैन । मोर्चा र माओवादी साझा धारणा बनाएका छन् । संविधानसभाको समितिले ल्याएको १४ वा राज्यपुनर्संरचना आयोगको १० प्रदेशको ढाँचामा छलफल हुनुपर्ने विषयमा दुवै पक्ष एकमत छन् ।

तपाइँको प्रतिक्रिया ।