संविधान सभामा एकवद्ध हुने एमालेको निर्णय

सर्वसम्मतिबाट पारित प्रस्तावसहित-
काठमाडौं, जेठ १३ (नागरिक)- नेकपा एमाले संसदीय दलको भर्खरै सम्पन्न बैठकले संविधानका विषयमा पार्टीभित्र जे जस्ता विचार आएपनि संविधान सभामा एकवद्ध भएर उत्रने निर्णय गरेको छ।

पार्टीले विवादित विषयलाई संविधानसभाबाट टुङ्ग्याएर १४ गतेभित्रै संविधान जारी गर्न सहमतिको प्रयास राख्‍ने निर्णय गरेको छ। एमाले सचेतक भीम आचार्यले बैठकबारे जानकारी दिँदै भोलिसम्म सहमतिमा संविधान जारी गर्ने र बाँकी रहेका कुरा रुपान्तरित संसदले सुल्ट्याउँदै जाने निर्णय भएको बताए।

२०६९ साल जेठ १३ गते नेकपा (एमाले) संविधान सभा दलको ५५ औं बैठकले सर्वसम्मतिबाट पारित गरेका प्रस्तावहरु-

१. मुलुक सामु संविधानसभाबाट संविधान निर्माण गर्नु बाहेक अर्को कुनै सकारात्मक विकल्प छैन। तर एनेकपा (माओवादी) को आत्मपरक हठका कारणले गर्दा यो संभावना कमजोर हुदैं गएको देखिएको छ। नेकपा(एमाले) संविधान सभा दलको यो बैठक संविधान सभाबाट संविधान निर्माण हुन नदिने सबै प्रकारका हठहरुको विरोध गर्दछ  र, यही २०६९ साल जेठ १४ भित्रै संविधानसभाबाट संविधान जारी गर्नका लागि जिम्मेवारीवोधका साथ अगाडी बढ्न सवै राजनीतिक दलहरु एवं सभासद मित्रहरुलाई हार्दिक आव्हान गर्दछ।

न्युनतम समय छदैं कदाचित सवै विवादित विषयहरुमा सहमती निर्माण हुन सकेन भने सहमतीका विषयहरुलाई उल्लेख गरेर संविधान जारी गर्न र बांकी रहेका विवादित विषयहरुलाई टुंगोमा पुर्याउने जिम्मेवारी रुपान्तरित व्यवस्थापिका–संसदलाई हस्तान्तरण गर्न संबद्ध सवैलाई आव्हान गर्दछ।

२. नेकपा(एमाले) संविधानसभा दलको एकताका सम्वन्धमा कतिपयले गरिरहेको तथ्यहिन प्रचारप्रति यो बैठकको गंभीर ध्यानाकर्षण भएकोछ। हाम्रो दल एकताबद्धछ र एकताबद्ध रहिरहेनेछ, भन्ने कुरा स्पष्ट गर्दछौं। हाम्रो आन्तरिक एकतालाई कमजोर पार्ने हरेक प्रकारका षड्यन्त्रहरुलाई परास्त गर्न सिङ्गो दल दृढ संकल्प व्यक्त गर्दछ।

(भीम आचार्य)
प्रमुख सचेतक

तपाइँको प्रतिक्रिया ।