तारकेश्वर नगरपालिकाको ९ औं नगर सभा सुरु
कपन अनलाइन
काठमाडौँ, असार १० ।तारकेश्वर नगरपालिकाको ९ औं नगर सभा बुधबार बाट सुरु भएको छ । बागमती प्रदेश सभा सदस्य प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यमा शुरु भएको सो नगर सभाको अध्यक्षता तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोराले गरेका थिए।
उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा प्रमुख प्रशासकीय अधिकृत शिव लम्साल , बिभिन्न राजनीतिक दलका प्रतिनिधि , वडा अध्यक्षहरु नगर कार्यपालिका सदस्यहरु सहित कर्मचारीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शिब लम्सालले स्वागत मन्तब्य राखेका थिए भने नगर प्रमुख रामेश्वर बोहराले नीति कार्यक्रम माथि प्रकाश पारेका थिए।
कार्यक्रममा नगर उप प्रमुख भवानी डोटेल धितालले नगरपालिकाको आगामी आर्थिक बर्ष २०७८/०७९ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन ।नीति तथा कार्यक्रममा पूर्वाधार विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवद्धधन, साँस्कृतिक सम्पदाहरुको संरक्षण, शहरीकरण व्यवस्थापन, रोजगारी सिर्जना, आर्थिक विकास, कृषिको आधुनिकीकरण, विपद् व्यवस्थापन, सहकारी, खेलकूद, महिला तथा वालवालिका, अपांगता भएका व्यक्तिहरु, जेष्ठ नागरिक सबैलाई समेटीएको समग्र नगरको विकास र समृद्धिका लागि लागि सकारात्मक लाभ पुग्ने खालका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता राखिएको प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।
उनले नगर सभामा आगामी आ.ब.२०७८/०७९ का लागि १ अर्व ८४ करोड १२ लाख १८ हजार रुपैयाको प्रस्तावित बजेट पेश गरेकी थिइन। नगर सभामा लेखा समिति, न्यायिक समिति लगायतका प्रतिवेदनहरु छलफलका लागि प्रस्तुत गरिएको थियो ।कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य प्रकाश श्रेष्ठले शुभकामना मन्तब्य राख्दै नगर सभा सफलताको कामना गरेका थिए ।
फोटो : सामाजिक संजाल