टोखा नगरपालिकाको नवौँ नगर सभा बुधबार बाट शुरु

टोखा नगरपालिकाको नवौँ नगर सभा बुधबार बाट  शुरु

कपन अनलाइन

काठमाडौँ,  असार १० । टोखा नगरपालिकाको नवौँ नगर सभा बुधबार बाट शुरु भएको छ  ।टोखा नगरपालिकाले  एक अर्ब ८९ करोड ९४ लाख ७६ हजार रुपैयाँको बजेट नगरसभामा पेश गरेको छ ।नगरपालिकाको नवौँ नगरसभामा नगरप्रमुख प्रकाश अधिकारीले बुधबार  आर्थिक वर्ष २०७८/०७९ नीति तथा कार्यक्रम प्रस्तुत गर्दे उक्त वजेट पेश गरेका हुन् ।दोस्रो चरणको कोरोना सङ्क्रमण बढीरहेको बेलामा टोखाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नगरसभामा आव २०७८/०७९ को बजेट पेश गरेको हो ।

टोखाले केन्द्र सरकारबाट प्रदान गर्ने निःशुल्क औषधिको अलावा नगरपालिकाबाट समेत औषधिहरु निःशुल्क उपलब्ध गराउने कार्यक्रम अगाडि सारेको छ । टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पतालका रुपमा विकास गरिसकिएकाले उक्त अस्पतालबाट उच्चतम सेवा लिन नगरवासीलाई उत्प्रेरित गर्ने भएको छ ।

यस्तै, टोखाले ‘मेयर स्वास्थ्य कार्यक्रम’ र ‘महिला सँग उपमेयर’ स्वास्थ्य कार्यक्रमलाई अगाडि बढाउने भएको छ । एक वडा एक योग ध्यान केन्द्र कार्यक्रमलाई समेत टोखाले अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ । स्वास्थ्यबाहेक वजेटले शिक्षा, उद्योग र पूर्वाधारलाई समेत जोड दिएको छ ।

टोखाले वडागत रुपमा रु दुई करोड ५० लाखको वजेट सिलिङ प्रस्ताव गरेको छ । नगरसभामा नगर उपप्रमुख ज्ञानमाया डङ्गोलले स्वागत मन्तब्य राख्दै  नगरवासीको जीवनरक्षाका लागि नगरपालिकाले अहोरात्र खटेर काम गरिरहेको उल्लेख गरेकी थिइन् । उनले समृद्ध टोखा नगरपालिका निर्माणका लागि आगामी नीति तथा कार्यक्रमले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेकी थिइन ।

नगरपालिकाको न्यायीक समितिमा चालू आर्थिक वर्षमा ३४ उजुरी दर्ता भएका छन् । दर्ता भएका ३४ उजुरीमध्ये २१ उजुरीको फैसला भएको न्यायीक समितिका सदस्य गोपीकृष्ण पाठकले जानकारी गराएका थिए । नगर सभामा प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्य, नगर प्रवक्ता बच्चु बस्याल, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु लगायत नगर सभा सदस्यहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।