काठमाडौ महानगरपालिका वडा नं ३२ मा खोपको हिनामिना भएको माओवादी केन्द्रको आरोप

काठमाडौ महानगरपालिका वडा नं ३२ मा खोपको हिनामिना भएको माओवादी केन्द्रको आरोप

कपन अनलाइन

काठमाण्डौ ,असार ९ ।

नेकपा माओवादी केन्द्रले  कोरोना खोप अभियानको क्रममा काठमाडौँ महानगरपालिका वडा नं ३२ मा खोपको हिनामिना भएको  आरोप लगाएको छ  ।

नेकपा माओवादी केन्द्रले एक विज्ञप्ति जारी गर्दै सरकारले दिएको खोप तोकिएको उमेर समूहका व्यक्तिहरुलाई लगाउने भन्दा पृथक व्यक्तिहरुसँग अनुचित लाभ लिंदै खोप वितरण गरेका सूचनाहरु आएको बताएको छ । नागरिक समाज, पत्रकार तथा खोप अभियानमा आएका ज्येष्ठ नागरिक माथि दुर्व्यवहार भएको पार्टीले जनाएको छ ।

पार्टीका वडा संयोजक पदम कुमार रेग्मीले विज्ञप्तिमा भनेका छन्, ‘सिङ्गो देश कोरोनाको महामारी विरुद्ध एकजुट भएर लडिरहेको सन्दर्भमा संक्रमणको हटस्पट मानिएको काठमाडौँ महानगरको वडा नं ३२ को कोरोना खोप अभियानको क्रम भएका केहि घटनाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

नागरिकको स्वास्थ्यसँग जोडिएको उक्त संबेदनशील विषयमा तत्काल छानबिनको प्रक्रिया अघि बढाउन माओवादी केन्द्रले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

कोरोना खोप बेच्नेसम्मका अपराध भएका उजुरी पार्टीको वडा कमिटीमा आएको भन्दै कोरोना खोपको प्रमाणित विवरण तत्काल सार्वजनिक गर्न वडा कार्यालयलाई माओवादी केन्द्रले अनुरोध गरेको छ ।

 

तपाइँको प्रतिक्रिया ।