बानेश्‍वरमा तनाव, ब्यापक सुरक्षा

 

नयाँ बानेश्‍वर, जेठ १३- जेठ १४ आउन केही घन्टामात्र बाँकी रहँदा संविधान सभा रहेको नयाँ बानेश्वर क्षेत्र तनावमय भएको छ। जनजाति महासङ्घको आयोजनामा विभिन्न जातीय समुदायले धर्ना दिएका छन्। सवारी आवतजावत ठप्प छ। सँगै प्रहरीले उच्च सतर्कता अपनाएको छ।

 संविधान वरिपरि सयौंको सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। नयाँ बानेश्वरको शान्तिनगर क्षेत्रमा ताम्सालिङ समुदायले धर्ना दिएका छन् भने बुद्धनगर क्षत्रेमा तमुवानले धर्ना दिइरहेका छन्। त्यस्तै शङ्खमूल जाने बाटोमा थारु तथा किराती समुदायले धर्ना दिइरहेका छन्।

धर्ना बसेकाहरुले सरकार र जनजाति महासङ्घबीच भएको ९ बुँदे सहमति कार्यन्वयन गर्नुपर्ने मुख्य नारा लगाइरहेका छन्। त्यस्तै ‘भ्रष्टाचारीलाई फाँसी दे’, ‘जातीय पहिचानसहितको सङ्घीयता कायम गर’, जातीय सङ्घीयताबिनाको संविधान मान्दैनौं’ लगतयका नारा लगाइरहेका छन्।

थारु सङ्घर्ष समितिका अध्यक्ष चन्द्रकुमार चौधरीले अबको संविधानमा थारुको पहिचानसहितको राज्य हुनुपर्ने अडान राखेका छन्। तपाईंहरुको माग पूरा नभए के गर्नुहुन्छ भन्ने जिज्ञासा राख्दा उनले भने- थारु पहिचानसहितको संविधान नभए हामीले त्यो संविधान मान्दैनौं र हामीले त्यस्तो संविधान जलाउने छौं।

त्यस्तै किरात सङ्घर्ष समितिका अध्यक्षले आफूहरुले नाजायज माग नराखेको र माग कुनै पनि हालतमा पूरा गर्नुपर्ने अडान राखेका छन्। अबको नयाँ संविधानमा जातीय पहिचानसहितको संविधान नल्याए सशक्तरुपमा आन्दोलन चर्काउने उनले बताए।

तपाइँको प्रतिक्रिया ।