कागेश्वरी मनोहरा नगरपालिकाको पाँचौ नगर सभा सोमबार बाट शुरु
कपन अनलाइन
काठमाडौं, असार ८। कागेश्वरी मनोहरा नगरपालिकाको पाँचौ नगर सभा शुरु भएको छ। स्वच्छ सफा हराभरा वनाऔँ कागेश्वरी मनोहरा भन्ने मूल नारा सहित कागेश्वरी मनोहरा नगरपालिकाको पाँचौ नगरसभा सोमबार बाट शुरु भएको हो। बागमती प्रदेश सभा सदस्य मनिराम फुयालको प्रमुख आतिथ्यमा शुरु भएको सो नगर सभाको अध्यक्षता कागेश्वरी मनोहरा नगरपालिका उप प्रमुख बिन्दु पुडासैनी सिंखडाले गरेकी थिईन।
उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा प्रमुख प्रशासकीय अधिकृत गिरीराज ज्ञावली, जिल्ला समन्वय समिति काठमाडौंका सदस्य कृष्ण लम्साल नगरपालिकाका सल्लाहकार भरत फुयाँल, कानुनी सल्लाहकार बिदुर ढुंगाना, वडा अध्यक्षहरु मकुन्द प्रसाद गजुरेल, सुदर्शन धिमाल, राममणी पुडासैनी, भाइकाजी अधिकारी, प्रकाश फुयाँल, जीवन थापा, श्रीकृष्ण प्रसाद चापागाई र कुन्दन खड्का, नगर कार्यपालिका सदस्यहरु सहित कर्मचारीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रम संचालन नगर प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष राजाराम पुडासैनीले गरेका थिए ।
कार्यक्रममा नगर प्रमुख कृष्णहरि थापाले स्वागत मन्तब्य सहित नगरपालिकाको आगामी आर्थिक बर्ष २०७८।०७९ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए।नगर प्रमुख थापाले यस नीति तथा कार्यक्रममा पूर्वाधार विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवद्धधन, साँस्कृतिक सम्पदाहरुको संरक्षण, शहरीकरण व्यवस्थापन, रोजगारी सिर्जना, आर्थिक विकास, कृषिको आधुनिकीकरण, विपद् व्यवस्थापन, सहकारी, खेलकूद, महिला तथा वालवालिका, अपांगता भएका व्यक्तिहरु, जेष्ठ नागरिक सबैलाई समेटीएको समग्र नगरको विकास र समृद्धिका लागि लागि सकारात्मक लाभ पुग्ने खालका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता राखिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नगर सभामा नगर प्रमुख थापाले आगामी आ.ब.२०७८।०७९ का लागि २ अर्ब ३ करोड ७६ लाख ९२ हजार ९२ रुपैयाँको प्रस्तावित बजेट समेत पेश गरेका थिए।नगर सभामा लेखा समिति, न्यायिक समिति लगायतका प्रतिवेदनहरु छलफलका लागि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै बागमती प्रदेश सभा सदस्य मणिराम फुयालले बिकास निर्माणको काममा सबैजना एक जुट हुनु पर्ने बताएका थिए ।उनले विकास सबैको लागि भएको हुँदा विकासमा तेरो मेरो नभनि मिलेर अगाडि बढ्नु पर्ने भन्दै विकासमा राजनीति गर्न नहुने बताएका थिए ।उनले कागेश्वरी मनोहरा नगरपालिकाले विकासमा उत्कृष्ट कार्य गरिरहेको भन्दै प्रस्तुत नीति कार्यक्रम तथा बजेट कार्यन्वयनमा जोड दिदै नगर सभा सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
सोमबार बाट शुरु भएको नगर सभा असार १० गते सम्म संचालन हुनेछ ।