दाहालपुत्र सगरमाथा शिखरमा

काठमाडौं, जेठ १३ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश सगरमाथा शिखरमा पुगेका छन्। आज बिहान ८ बजे टोलीका अन्य सदस्यसँगै दाहालले सर्वोच्च शिखर चुमेको आधार सिविरमा रहेका पर्यटन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए।
१० जनाको टोली सगरमाथा यात्रामा हिँडे पनि ८ जनालेमात्रै सफल आरोहण गरेका हुन्।

लुम्बिनी सगरमाथा एभरेस्ट एक्सपेडिसन २०१२ आरोहण दलबाट सगरमाथा गएका प्रकाशसँगै केन्द्रीय सदस्य कृष्ण केसी, विना मगर, शिव डाँगी, सरल सहयात्री पौडेल, युवराज दुलाल, महेश्वर फुयाँल र मदन चुडालले सफल आरोहण गरेका हुन्। समूहका दुई जनाले आरोहण गर्न नसकेर फिर्ता भएका छन्। दलको नेतृत्व केन्द्रीय सदस्य केसीले गरेका थिए।

शुक्रबार बेलुका ७ हजार ९ सय मिटर उचाइको साउथकोल (अन्तिम शिविर)बाट हिडेको प्रकाशको टोली शनिबार बिहान ८ बजे शिखर पुगेको हो।

‘प्रकाशसहित सबैको स्वास्थ्य राम्रो छ। आज साउथकोल झर्ने र सोमबारसम्म आधार सिविर आइपुग्ने छन्,’ आधार सिविरबाट बताए।
सरकारले उनीहरुको सगरमाथा आरोहण दस्तुर मिनाह गरेको थियो। विवादको घेरमा रहेको आरोह उनीहरुले चन्दा उठाएर पूरा गरेका हुन्। सरकारले उनीहरुको आरोहणका लागि २ करोड दिने मन्त्रिपरिषद्‍बाट नै निर्णय गरेको थियो। चौतर्फी आलोचनापछि उनीहरुले सरकारले दिने भनेको रकम नलिने घोषणा गरेका थिए।

तपाइँको प्रतिक्रिया ।