बुढानिलकण्ठमा दलहरुको बिज्ञप्ति नौटंकी र खोप प्रकरणको नालीबेली
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ३० /पुन्यराज पुडासैनी
बुढानिलकण्ठमा खोपमा नाङ्गो राजनीति र विभिन्न दलहरुको बिज्ञप्तिको नौटंकी यो शीर्षक पक्कै प्रिय छैन ,नगरपालिकालाई माया गर्ने जो कसैलाई पनि यो प्रिय लाग्ने कुरै छैन।
अझ यो नगरपालिकाको भौगिलिक ,सांस्कृतिक र प्राकृतिक पक्षहरुलाई नियाल्नेहरुलाई त शीर्षक हेर्दै रिस पनि उठ्यो होला। यो स्वभाविक हो र यसले पक्कै सकारातमक पाटो र बाटो देखाउदैन।
तिन दिनको खोप प्रकरणले नराम्रो संग नांगिएको बुढानिलकण्ठ नगरपालिकाका राजनीतिक दलहरुको गतिविधि र अनुहार माथिको शीर्षक जस्तै भएकोले भारी मनले त्यो राखिएको हो।
यो प्रकरण चलिरहदा हामीलाई माया गर्ने हाम्रा धेरै पाठकहरुले सत्य के हो र वास्तविक भएको के हो ? भनेर विभिन्न माध्यम बाट प्रश्न गर्नुभयो र गरिरहनु भएको छ। यसरि हामीलाई प्रश्न गर्ने कुनै राजनीतिक दल ,समुदाय वा विचार निकट हुनुहुन्न वा भनौ प्रश्नमा राजनीतिक मिसिएको छैन।
पल पलमा आरोप ,प्रत्यारोप,व्यक्तिको मानमर्दन गर्ने उदेस्यले प्रकासित सामाचार ,सनसनी बनाउन हाइ लाइट गरिएका शीर्षक, विभिन्न नेताहरुका स्टाटस हुदै राजनीतिक दलको बिज्ञप्ति सम्म पुगेको प्रकरणलाई गहिरिएर नियाल्दा त्यहा चार वटा प्रवृति र पात्रहरुको मुख्य भूमिका देखिन्छ।
१. राजनीतिक दल : आफै खोप लगाउने आफै विरोध गर्ने
बुढानिलकण्ठ नगरपालिकामा तिन दिन चलेको खोप अभियानमा सबैभन्दा धेरै चर्चा र परिचर्चामा यहाका राजनीतिक दल रहेका छन। नगरपालिकामा खोपमा खेल भयो भन्दै नेपाली कांगेस र नेकपा माओवादी केन्द्रले बिज्ञप्ति जारी गर्दै चर्को आक्रोस ब्यक्त गरेका छन।
नेपाली कांग्रेसले यस प्रकरणमा दुई वटा बिज्ञप्ति जारी गरेको छ। नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ का सभापति राजु श्रेष्ठ र क्षेत्रीय सचिव तथा प्रदेस क्षेत्रका सभापति बिनोद चालिसेले यो प्रकरणमा बिज्ञप्ति जारी गरेका छन। जानकारहरुले एकै दल बाट आएका यी दुई बिज्ञप्तिलाई नेपाली कांग्रेस काठमाण्डौ -४ मा सतह मुनि चलिरहेको संघर्षको सानोतिनो कास्टिङ पनि भनेका छन।
त्यस्तै माओवादी केन्द्रले पनि सहयोग समितिका नाममा संयोजक ठाकुर खकुरेलले बिज्ञप्ति जारी गर्दै विष बमन गरेका छन। बिज्ञप्तिको भाषा हेर्दा नगरपालिकाले ठुलै गम्भीर अपराध गरिए झैँ लाग्दछ।
तपाइहरुलाई लागेको होला गलत भयो भने बिज्ञप्ति जारी गरेर विरोध गर्दा के भयो त् ? पक्कै हो तर यहाँ राजनीतिक दलको कथनी र करनी भने दिन र रात जस्तै विल्कुल फरक देखिएको छ।
माओवादी केन्द्रको बिज्ञप्ति
यस पटकको खोपमा भएको खेलमा सबै भन्दा शशक्त र भेट्रान खेलाडी नै राजनीतिक दल र तिनका नेता कार्यकर्ता देखिएका छन। यदि नगरपालिकाले साहस गरेर खोप लाउनेहरुको नामावली सार्वजनिक गर्ने हो भने नगरवासीले माथि शीर्षकमा भनिए जस्तै राजनीतिक दलको बिज्ञप्तिको नौटंकीको नाङ्गो रुप स्पस्ट देख्नेछन।
त्यसवेला स्वास्थ्यकर्मीको नाममा ,संचारकर्मीको नाममा , दवाव र तनाव दिएर अनि खोप केन्द्रमा हुल दंगा समेत गरेर खोप लगाउने धेरै नेता तथा कार्यकर्ताहरुको अनुहार पक्कै नगरवासीले चिन्नेछन भने राजनीतिक दलको गतिविधिलाई पनि राम्ररी बुझ्ने छन।
अझ भित्र खोप हानेर पाखुराको दुखाई नसेलाउदै बाहिर आएर चर्को विरोध गर्ने नेता (!) ,आफु त् आयो आयो सालो र श्रीमती समेत बोकेर आउने नेता (!) ,आफु खोप केन्द्रको आसपास लुकेर आफ्ना मान्छे लाई खोप लगाउन पठाउने नेता (!) ,नियम विपरित खोप लाएर सामाजिक संजालमा प्रचार गर्ने नेता (!) हरु नै विरोधमा अग्रमोर्चामा देख्दा (!) भनेर हामीले विस्मृत भाव जनाएका हौ। अझ यसको मोर्चा कमान्डर र कतिपय भित्र खोप हानेर आउने गत स्थानीय निर्वाचनमा उम्मेदवार बनेका ब्यक्तिहरु समेत थिए । ( को को भन्ने यदि नगरपालिकाले नाम सार्वजनिक गर्यो भने नगरवासीले पक्कै थाहा पाउनु हुनेछ )
२. जनप्रतिनिधि : रवाफ ,दवाव ,प्रभाव अनि मतको लोभ
नगरपालिकामा चलेको खोप प्रकरणको केन्द्र भागमा जस अपजस पाउने मुख्य भागीदारका रुपमा जनप्रतिनिधिहरु रहेका छन। कोरोना प्रकोपको समयमा आएको खोपमा जनप्रतिनिधिहरु नराम्रो संग चिप्लिनुमा उनीहरुमा देखिएका केहि प्रवृतिहरु मुख्य जिम्मेवार देखिएका छन।
पहिलो प्रवृति रहेको छ रवाफ। अहिलेका जनप्रतिनिधिहरुमा राजा महाराजा जस्तै भए भनेर वेला वेला आलोचित हुने जनप्रतिनिधिले खोपमा पनि रवाफ प्रकट गर्दै पावर देखाउन खोज्दा अहिले नराम्रो संग चिप्लिएका छन। बल्ल बल्ल भाको छ जनप्रतिनिधि त्यसको शक्तिको प्रदर्शन गर्दिउ न भनेर हो कि किन हो ? खोप केन्द्रमा यस्तै देखिएको थियो।
त्यस्तै जनप्रतिनिधिहरुलाई खोपले सकस पार्नुमा अर्को तत्व दवाव र प्रभाव देखिएको छ। माथिल्लो तहका नेता ,कार्यकर्ता ,भोलि संगै काम गर्नुपर्ने विपक्षी दलका नेताहरु अनि परिवारको दवाव र प्रभावमा उनीहरु दल दलमा परेको हात्ती जसै भएका थिए। त्यो प्रभाव र दवाव यस्तो बलशाली थियो कि परिणाम नगरवासीहरुले अहिले छर्लंग देखिरहेका छन।
र अर्को जनप्रतिनिधिहरुमा देखिएको मतको मायाले पनि धेरैले “अपुताली” खोप लगाउने मौका पाएका थिए।र यो प्रसंग यति बढ्यो कि केहि केहि जनप्रतिनिधिहरु त् केन्द्रमा झन्डै शारीरिक हमलामा समेत उत्रिने शुरमा पुगेका थिए।
३. कर्मचारी : हाम्रै नगरमा आउने हाम्ले लाउन नपाउने
बुढानिलकण्ठ नगरपालिकामा भएको खोपको खेलमा खेल्ने अर्को अब्बल खेलाडी कर्मचारीहरु हुन। हाम्रै नगरमा आउने हाम्ले लाउन नपाउने यो आवाज धेरै कर्मचारीहरुले नगर प्रमुख ,उपप्रमुख र स्वास्थ्य महाशाखा प्रमुखलाई पटक पटक भनेका थिए।
सन्तान बैगुनी भए नि माया मार्न सकिदैन भन्दै कर्मचारीको कस्ट भोग्दै आएका नगर प्रमुखलाई यिनै कर्मचारीहरुलाई कार्यालय मै खोप लगाउने कुराले अनावस्यक विवादमा तानेको छ। खोपका लागि आफ्ना नजिकका साथी,परिवार पुरै, साँझलाई रमाइलो बनाउने ठेकेदार र अन्यलाई निस्फिक्री खोपमा चलखेल गर्ने मौका दिएका कर्मचारीहरुको पनि बाक्लै नाम खोप लाउनेमा देखिनेछ । (यदि नगरपालिकाले साहस गरेर नाम सार्वजनिक गरेको खण्डमा )
४. बुद्दिजीवी र प्रभावशाली व्यक्तिहरु : भित्र खोप लाउने बाहिर डम्फु बजाउने
तिन वटा माथिका खेलाडी संगै खोप प्रकरणमा पुरा समय खेल खेल्नेमा बुद्दिजीवी र प्रभावशाली व्यक्तिहरु परेका छन। यहाँ बुद्दिजीवी र प्रभावशाली व्यक्तिहरु भन्नाले माथिका तिन थरि बाहेक जो जसले खोप लगाए उनीहरुलाई भनिएको हो। यस्ता व्यक्तिहरुले पनि खोप लगाउने र खोपमा भएको राजनीतिको माहोल तताउने गरेको देखिएको छ।
आफै नियम विपरित खोप लाउने अनि आफै लफडा भयो भन्दै सामाजिक संजालमा गीत गाउने,जनप्रतिनिधि र कर्मचारीलाई भोलिको दुहाइ दिदै थर्काउने , नियम विपरित खोप हानेर टिक टक र भिडियो बनाउने, जनप्रतिनिधि र कर्मचारीको छेउमा चल्ला घुस्रिए झैँ घुस्रेर खोप भ्याउने यी पात्रहरुको चर्तिकला पनि बयान गरिसाध्य छैन। तर जे भए पनि यी खेलाडीहरु पनि खोप प्रकरणलाई यो क्लाइमेक्समा पुर्याउने दरिलै पात्रहरु रहेका छन।
बुढानिलकण्ठ नगरपालिकामा चलेको खोप प्रकरणमा देखिएका माथिका खेलाडीहरुका वारेमा हामीले अनुसन्धान गर्दा पाएका कुराहरु हुन। हामीले सधै हाम्रो धर्म सत्य र सहि कुरालाई सुसुचित गराउनु हाम्रो धर्म ठानेर यहाँ प्रस्तुत गरेका हौ।
हामीलाई कसैको सानो कुरालाई पनि कनिकुथी कथा लेखेर मानमर्दन गर्नु छैन अनि स्वस्थानीमा भनिए झैँ हजार फणा भएको शेस नागले गर्न नसकेको ब्याख्या गरेर कसैको प्यारो बन्नु पनि छैन। र यो प्रकरणमा पनि नगरवासीले सत्य र सहि कुरा थाहा पाउनु पर्छ भनेर माथिका प्रवृतिका वारेमा लेखेका है र लेखिने रहने छौ।
यो आलेखलाई अन्त्य तिर लगिरहदा बुढानिलकण्ठ नगरपालिकाको शिर निहुरिने गरी यहाका नेतृत्वदायी राजनीतिक दलहरुले गरेको छद्म भेषी राजनीतिको नौटंकी फेरी अर्को प्रसंगमा नदोहोरियोस भन्ने हो। अनि आफ्नै जिम्मेवार नेता र कार्यकर्ताहरुले खुलेआम नियमको धज्जी उडाउने तर पार्टीहरु झन् त्यसमा लिस्नु हाल्ने गलत प्रवृतिको अन्त्य होस र कुशल राजनीतिक संस्कार विकसित बनोस भन्ने हो।
अन्त्यमा तमाम घटना र प्रसंगलाई नजिक बाट नियाली रहेका नगरवासीहरुका सामु जेष्ठ नागरिकको नाममा आएको खोप अपचलन गर्दै नेतृत्वलाई बद्नाम गराउने नेता कार्यकर्ताहरुलाई राजनीतिक दलले कारवाही गर्छन वा स्यावासी दिदै नगरपालिकामा दिएको बिज्ञप्ति फिर्ता लिन्छन ? त्यो भने आउने दिनमा देखिने नै छ अनि लेखिने नै छ ।