खेलकुद क्षेत्रलाई प्राथमिकता राखेर खोप उपलव्ध गराउन नेपाल खेलकुद महासंघको माग

खेलकुद क्षेत्रलाई प्राथमिकता राखेर खोप उपलव्ध गराउन नेपाल खेलकुद महासंघको माग

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २६। नेपाल खेलकुद महासंघ स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई ज्ञापनपत्र बुझाउदै खेलकुद क्षेत्रलाई प्राथमिकता दिई राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा खोप केन्द्र सञ्चालन गर्न माग गरेको छ।

बुधबार नेपाल खेलकुद महासंघको ज्ञापनपत्र बुझ्दै मन्त्री तामाङले केही दिनमै कोभिड–१९ विरुद्धको खोपको सन्दर्भमा सकारात्मक समाचार आउने भन्दै आगामी दिनमा फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रका व्यक्तिहरुलाई पनि प्राथमिकता दिइने बताएका थिए।

तामाङले कोरोना विरुद्धको खोपका लागि अब खेलाडी र खेल क्षेत्रका व्यक्तिहरुलाई पनि प्राथमिकता दिने बताउदै   सरकार कोभिड–१९ सँगसँगै अन्य रोगको उपचार पनि जनतालाई कसरी सहज बनाउन सकिन्छ भनेर लागिरहेको बताएका थिए ।

‘खोपलाई प्राथमिकताका साथ अगाडि बढाएका छौं । आएको खोपको सीमितताको कारण उमेर समूहलाई छुट्याएर गरिरहेका छौं । सम्भवतः केही दिनभित्रै कोभिडको भ्याक्सिन सम्बन्धी सकारात्मक समाचार तपाईंहरुले पाउनुहुनेछ,’ उनले भने, ‘पहिले हामीले फ्रन्टलाइनमा खट्ने सञ्चारकर्मी, पत्रकारलाई लगायौं, तर खेलाडी, खेलकुद क्षेत्र प्रवेश गर्न सकेको छैन । तर अब यस्ता विभिन्न क्षेत्र लगायत फ्रन्टलाइनमा खटिरहनुभएको छ उहाँहरुलाई पनि लक्षित गरी भ्याक्सिनको परिणाम बढी ल्याउन सक्यौं भने त्यो पनि ध्यान दिन्छौं । कोभिडसँगै अन्य उपचार पनि कसरी सहज बनाउन सकिन्छ भनेर अध्ययन गरेर अगाडि बढेका छौं ।’

मन्त्री तामाङलाई ज्ञापनपत्र बुझाउँदै नेपाल खेलकुद महासंघले खेलाडी लगायत खेल क्षेत्रका लागि काठमाडौं उपत्यकामा ५ हजार र  प्रदेश र जिल्लामा आवश्यकता अनुसार कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन सरकारसँग आग्रह गरेको थियो  ।

यसैगरी आगामी दुई महिनाभित्र प्रत्येक नागरिकले खोप लगाउन सक्नेगरी व्यवस्था गर्न, पीसीआर परीक्षणलाई सहज बनाउन र खेलकुद क्षेत्रलाई प्राथमिकता दिई राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा खोप केन्द्र सञ्चालन गर्न महासंघले सुझाव समेत दिएको थियो।

तपाइँको प्रतिक्रिया ।