काठमाडौंका ९ स्थान निषेधित क्षेत्र

कपन अनलाइन /माघ ४ – संविधान निर्माणको अन्तिम मिति माघ ८ आउन ४ दिन मात्र बाँकी रहेको बेला सरकारले संविधानसभा भवन आसपास लगायत अतिविशिष्ट ब्यक्तिको निवास र कार्यालय क्षेत्रलाई निशेधित क्षेत्र घोषणा गरेको छ ।

जिल्ला सुरक्षा समितिको सिफारिसमा बिभिन्न ९ स्थानमा धर्ना, जुलुस, आमसभा, कोणसभा र मसाल जुलुस जस्ता कार्यक्रम गर्न निषेध गरेको छ । विशेषगरी यो निषेधित क्षेत्र नयाँ बानेश्वरस्थित संविधानसभा भवन आसपास केन्द्रित छ । संविधान बनाउने अन्तिम मिति माघ ८ गतेलाई लक्षित गरेर बिभिन्न समुहरुले यो क्षेत्रलाई बढि लक्षित गरेर विरोधका कार्यक्रमहरु केन्द्रित गरेकाले सुरक्षा निकायले पनि त्यहि अनुसारको तयारी गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले सोमबारदेखि लागु हुने गरी निशेधित क्षेत्र घोषणा गरिएको जानकारी दिए । उनका अनुसार संविधान सभा भवनको पश्चिम गेटबाट नयाँ बानेश्वर चोक हुदै औषधि व्यवस्था बिभागसम्म तोकेको छ । यसअघि बानेश्वरकै एभरेष्ट बैंक अघिसम्म मात्र निषेधित क्षेत्र तोकिएको थियो । यस्तै संविधान सभा भवन अघि अरनिको राजमार्गतर्फ यातायात ब्यवस्था विभागको पूर्वी किनारा, निजामती अस्पतालको उत्तरपूर्वी किनारासम्म निषेधित क्षेत्र तोकिएको छ । बानेश्वर चोक देखि शंखुमल जाने सडकतर्फ ५० मिटरसम्मको क्षेत्र निषेधित हो । संविधान सभा भवन पश्चिम तर्फ ३ नम्बर गेटबाट थापा गाउँ जाने अनमोल क्याटरिङ र भवनको उत्तर तर्फ निषेधित क्षेत्र घोषणा गरिएको छ ।

योसंगै माइतीघर मण्डलादेखि सिंहदरबार दक्षिण गेट हुँदै हनुमानस्थान मन्दिरसम्मको क्षेत्र निशेधित हो । भद्रकाली मन्दिर देखी सिंहदरबारको मुख्य गेट, सिंहदरबारको मुख्य ढोका देखी पद्मोदय मोडमा विरोधका कुनै कार्यक्रम गर्न पाइँदैन । साथै बबरमहल स्थित जिल्ला अदालत प्रवेश मार्गदेखि जिल्ला प्रशासन कार्यालय हुँदै हनुमानस्थान मन्दिरसम्म निषेधित क्षेत्र हुन् । यस बाहेक महाराजगञ्ज स्थित राष्ट्रपति कार्यालय कम्पाउण्डको प्रवेसद्वारको उत्तर तर्फ ५० मिटर र दक्षिण तर्फ नेपाल प्रहरीको दुई नम्बर गण जाने बाटोसम्मको क्षेत्रलाई निशेधित बनाइएको छ । उपराष्ट्रपति कार्यालय कम्पाउण्ड आसपासको क्षेत्र निषेधित हो । प्रधानमन्त्री निवास बालुवाटार आसपासका क्षेत्र पनि निषेधित हुन् । बालुवाटार स्थित नेपाल राष्ट्र बैंकको गेट देखी उत्तर रसियन दुतावास र त्यहाँबाट पानी पोखरी जाने सानो बाटोसम्म निशेधित क्षेत्र हो । प्रधानमन्त्री निवाससँगै जोडिएको प्रधानन्याधीश निवासदेखि ५० मिटर पश्चिम तर्फ आसपासका क्षेत्र समेत निषेधित हुन् ।

तपाइँको प्रतिक्रिया ।