कहाँ कहाँ भएन राजदुत नियुक्ति ?

कहाँ कहाँ भएन राजदुत नियुक्ति ?

कपनअनलाइन /काठमाडौ। सरकारले किस्ताबन्दीमा राजदूत नियुक्ति गरिरहँदा आठ नेपाली नियोग अझै नेतृत्वविहीन छन् । भदौमा ६ देशका लागि राजदूत सिफारिस गरेपछि शुक्रबार दुई देशका लागि राजदूत सिफारिस भएको छ । भारतका लागि दीपकुमार उपाध्याय र अमेरिकाका लागि अर्जुन कार्कीलाई राजदूतमा सिफारिस गरिएको छ । भारतमा राजदूत रिक्त भएको चार वर्ष पुग्नै लाग्दा र अमेरिकामा रिक्त भएको करिब एक वर्षपछि राजदूत सिफारिस गरिएको हो । अझै आठवटा नेपाली नियोग राजदूतविहीन छन् ।

कूटनीतिक सेवाबाट र राजनीतिक नियुक्तिबाट ५०–५० प्रतिशत राजदूत नियुक्त गर्ने नीतिअनुसार गत भदौमा परराष्ट्र मन्त्रालयका ६ सहसचिव राजदूतमा सिफारिस भएका थिए । उनीहरूले आफ्नो कार्यभार सम्हालिसकेका छन् । राजनीतिक नियुक्तितर्फ १० मध्ये दुईजना भारत र अमेरिकाका लागि राजदूत सिफारिस भएका छन् । सन् २०११ जुनदेखि भारतमा राजदूत थिएनन् ।

एमाओवादी सरकारका पालामा नेता राम कार्कीको नाम सिफारिस गरिए पनि भारतले एग्रिमो नदिँदा उनी जान पाएनन् । अमेरिकाबाट गत वर्ष पुसमा कार्यकाल सकिएर शंकर शर्मा फर्किएपछि राजदूत पद खाली थियो । सरकारले ०७० साउनमा परराष्ट्रसचिव दुर्गा भट्टराईलाई न्युयोर्कस्थित राष्ट्रसंघको स्थायी प्रतिनिधि र शिष्टाचार महापाल निरञ्जनसिंह बस्न्यातलाई मलेसियाको राजदूतमा सिफारिस गरेको थियो । सार्क महासचिवका लागि तत्कालीन परराष्ट्रसचिव अर्जुनबहादुर थापालाई ०७० असोजमा सिफारिस गरिएको थियो ।

इजिप्टमा दुई वर्षदेखि, कतारमा डेढ वर्षदेखि, जर्मनीमा करिब डेढ वर्षदेखि, श्रीलंकामा झन्डै एक वर्षदेखि, बेलायतमा ६ महिनादेखि राजदूत छैनन् । ओमान र बहराईनमा पनि सरकारले राजदूत नियुक्त गर्न सकेको छैन । इजिप्टका लागि तत्कालीन राजदूत श्यामलाल तबदारको मृत्यु भएपछि राजदूत नियुक्ति हुन सकेको छैन । कतारबाट मायाकुमारी शर्मालाई फिर्ता बोलाएपछि राजदूत नियुक्तिको पहल गरिएको छैन । कतारमा राजदूत नहुँदा समस्या भएको त्यहाँ काम गर्ने नेपाली कामदारको गुनासो छ । कतारमा पाँच लाखभन्दा बढी नेपाली कामदार रहेको अनुमान छ ।

 

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले राम्रा मान्छे पठाउने गृहकार्य भएकाले राजदूत नियुक्तिमा ढिलाइ भएको बताए । ‘कतिपय विषयमा मिलेर जानुपर्ने हुन्छ । राम्रो मान्छे पठाउने नीति भएको र सरसल्लाह गर्ने समय नभएकाले राजदूत नियुक्तिमा ढिलाइ भएको हो । अब बिस्तारै त्यो काम हुन्छ,’ पाण्डेले भने । सबै समय संविधानसभामा दिनुपरेकाले राजदूत नियुक्तितर्फ ध्यान दिन नसकिएको पनि उनको भनाइ छ । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार सत्तारुढ दल कांग्रेस र एमालेबीच भागबन्डा नमिल्दा खाली रहेका देशमा राजदूत नियुक्ति हुन नसकेको हो । ‘एमालेले भारतका लागि राजदूत कांग्रेसले सिफारिस गर्ने भए बेलायत र अमेरिका हामीले गर्ने हो भन्यो । बाँकी रहेका देशमा पनि दुई हामी रोज्छौँ, दुई तपार्इंहरू लिनुहोस् भन्नेखालको प्रस्तावले नियुक्तिमा ढिलाइ भएको हो,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘कांग्रेस ठूलो दल हो ।

 

बराबर कसरी हुन सक्छ ?’ परराष्ट्रका एक उच्च अधिकारीले प्रोफेसनल विषयलाई राजनीतीकरण गर्दा राजदूत नियुक्तिमा भद्रगोल भएको बताए । ‘यस्तो विषयमा पनि राजनीतिक रंग दिँदा ढिलाइ त भइहाल्छ नि,’ ती अधिकारीले भने । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले अब अन्य देशमा पनि बिस्तारै राजदूत नियुक्त हुने बताए । उनले भने, ‘सबै राजदूतावास महत्त्वपूर्ण हुन्छन् । भारत र अमेरिका झनै महत्त्वपूर्ण देश हुन् । सरकारले यी देशबाट राजनीतिक नियुक्ति गरेर राम्रो काम गरेको छ । बिस्तारै अरूमा पनि हुँदै जान्छ।

तपाइँको प्रतिक्रिया ।