बाटैमा जब बिमलाको गाडी बदलियो

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २२।

एमालेले प्रदेश कमिटीमा राखेर आफ्नो भन्ठानिएकी सांसदले आइतबार ‘नाटकीय शैलीमा’ माओवादी केन्द्रलाई समर्थन गरेपछि लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल संकटमा पर्नुभयो । जब घटना भयो, अनिमात्र एमालेहरूले थाहा पाए, यो घटनाको विकास त चैतदेखि नै भएको रहेछ ।
दाङ निर्वाचन क्षेत्र नं. ३ को प्रदेशसभा २ मा ०७४ का निर्वाचित उत्तरकुमार वलीको सडक दुर्घटनामा परी ०७५ सालमा निधन भयो । त्यसपछि ०७६ मंसिर १४ को उपनिर्वाचनताका उत्तरकी पत्नी विमलाकुमारी खत्री (वली) लाई नेकपाको नाममा उम्मेद्वार बनाइयो । उनले जितिन् । एमालेहरूलाई स्वाभाविक लाग्यो– आफ्नो पार्टी जिल्ला सचिवालय सदस्यकी पत्नी आफूसँगै रहन्छिन् । त्यसअनुसार, प्रतिनिधिसभा विघटनपछि माघ १५ गते ओलीपक्षीय एमालेले प्रदेश कमिटीमा राख्यो । तर, आइतबार एकाएक उनको भूमिका बद्लियो । प्रदेशमा एक भोटका कारण आफ्नो बहुमत दावी गरिरहेका मुख्यमन्त्री शंकर पोखरेलको पुनः मुख्यमन्त्री बन्ने योजनामा उनको भूमिकाले ठूलै झड्का दियो ।
त्यसदिन विमला घोराहीबाट जिल्ला सिञ्चाईं कार्यालयको गाडी चढेर बुटवलका लागि हिँडेकी थिइन् । तर, गाडी थोत्रो थियो, बिग्रियो । एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले गाडी बनाइदिएपछि उनी बाटो लागिन् । लामो बाटोमा समस्या पर्न सक्छ भनी युवा संघका एकजना सहयोगी लिएर जान भनिएको थियो । तर, ‘हतार भयो’ भन्दै कसैलाई लगिनन् । बुटवलको तिनाऊ पुल पुग्नुअघि गैरे पेट्रोल पम्प आउँछ । विमलाले त्यहाँ गाडी रोकिन् । त्यहीँ अर्को गाडी थियो, माओवादी नेतृ दामा शर्माको । आफ्नो गाडीबाट उत्रिएकी विमला सरासर दामाको गाडीमा चढिन् । र, दुबै मोबाइलको स्वीच अफ गरिन् । यसरी सम्पर्कविहीन भएकी उनले त्यहीबीचमा विज्ञप्ति जारी गरिन्, आफू माओवादी केन्द्रमा प्रवेश गरेको भनी । र, दिउँसो पत्रकार सम्मेलन पनि गरिन् ।
यसपछि बल्ल एमालेबृत्तमा चर्चा शुरु भयो– उनले प्रचण्डलाई २०७८/०१/०९ को मितिमा र प्रदेशका पार्टी प्रमुख कूलप्रसाद केसी (सोनाम) लाई चैत २५ तिरै लेखेकी रहिछन्, आफू उक्त पार्टीमा समाहित हुने कुरा । एकथरिले भने– शंकरलाई यो कुरा थाहा पाएरै राजीनामा गरेका हुन् । तर, यसको पुष्टि भएको छैन । आइतबार पुनः आफू मुख्यमन्त्री बन्न शंकरलाई ४१ सांसद पु¥याउनु थियो । त्यसैले लामो समय विमलालाई पर्खिए तर उनी आइनन्, विज्ञप्ति आयो र त्यसले आतंक मच्चायो । विमला किन आइनन् भनेर खोज्दै जाँदा एउटा अनलाइनमा उनले पार्टी छोडेको समाचार देखेपछि बल्ल एमालेहरू झस्किएका थिए ।
यसपछि विमलाले यसो गर्नुको कारण खोज्न थालियो । केही समयदेखि विमला आर्थिक समस्यामा पर्दै आएकी थिइन् । पति उत्तर म्यानपावर व्यवसायी पनि थिए । उनको एउटा मुद्दामा पीडितलाई २५ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने थियो । ‘चुनावमा पनि खर्च भयो, अहिले यत्रो खर्च हुँदा एक पैसो कतैबाट सहयोग भएन’ भनी गुनासो पोख्ने गरेकी थिइन् । ‘शायद आर्थिक आवश्यकता पूरा भयो होला, उनी माओवादीतिर लागिन्’, एमालेका एक स्थानीय नेताले जनआस्थालाई तीतो पोखे ।समाचार साभार : जनआस्था साप्ताहिक

तपाइँको प्रतिक्रिया ।