विप्लवका १५ ब्यूरोहरू खारेज

विप्लवका १५ ब्यूरोहरू खारेज

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २२।
भूमिगत गतिविधि त्यागेर शान्तिपूर्ण राजनीतिको मूलप्रवाहमा आएको विप्लव नेतृत्वको नेकपा अहिले तीनवटा मुस्किलमा फँसेको छ । एक– सरकारले बचन पूरा गरेन । दुई– कोभिडले नेता ढाल्न थाल्यो, र तीन– यही बेला एकथरि पार्टीबाट अलग्गिएका छन् ।
कपिलवस्तुमा ६ दिनसम्म बसेर १५ गते सकिएको बैठकमा उपस्थित ३४ मध्ये एक नेतृ कोभिडको नयाँ भेरिएन्टले संक्रमित भएर ढलेकी छन् । त्यही बैठकबाट फर्किएका अरु केही नेतालाई सामान्यदेखि उच्च ज्वरोले ग्रस्त पारेको छ । त्यसो त ज्वरो आउँदैमा कोभिडले समाएको भन्न मिल्दैन । तर, बैठकमा सहभागीमध्ये आधा मास्क लगाएर, आधा खुलेआम उपस्थित भएका कारण शंका बढेको हो ।

सबैभन्दा ग्रस्त भएकी छन्, महिलाकी अध्यक्ष बन्धु चन्द । उनलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि पश्चिमबाट नारायणगढ लगिँदैछ ।उक्त बैठकले केन्द्रीय सदस्यहरूलाई जिल्ला–जिल्लातिर इञ्चार्ज बनाएको छ । भूमिगतकालमा तयार पारिएका विभिन्न १५ व्युरो खारेज गरिएको छ । अर्कातिर, सरकारी पक्षबाट धोका भएको महसूस गरिएको छ ।

वार्तालगत्तै धर्मेन्द्र बास्तोलालगायत केही नेतालाई सरकारले प्रहरी हिरासतबाट रिहा गरेको तर बाँकी नेता–कार्यकर्ताको रिहाई प्रक्रियामा सरकार प्रवेश गर्नै नचाहेको र मधेशलाई जति भाउ नदिइएको भनी नेताहरू रिसाएका हुन् । ६ महिनाअघि नै धरौटी खुलेर पनि नतिरी जेल बसेका नेताहरूले धरौटी पनि मिनाहा हुनुपर्ने माग राख्दै आएका थिए ।

तर, सरकारले उनीहरूको माग नसुनेपछि अहिले धरौटी तिर्दै जेल छाडेर हिँड्नेको ताँती लागेको छ । विप्लवका दाइ वीरजंग, उपत्यका कमाण्ड सम्हाल्दै संखुवासभा कारागारमा रहेका माइला लामाहरू अन्ततः धरौटी बुझाएरै रिहा भएका छन् । जबकि, यसरी धरौटी बुझाएर छुट्नका लागि बालुवाटार गएर सरकारसँग सम्झौता गर्नुपर्ने नै थिएन ।
अर्कातिर विप्लवकै पार्टीको नाममा ‘क. नेपाल’ भनेर विज्ञप्ति निकाल्ने व्यक्ति को हुन् ? पत्ता लाग्न सकेको छैन । हुँदाहुँदा विप्लवको पार्टीसमेत फुटेको हल्ला चलाइएको छ । कृष्णप्रसाद धमलाको नेतृत्वमा पार्टी विभाजित भयो भनिएको हो । त्यसरी पार्टी विभाजन गर्नेलाई ‘यो आन्दोलनमा सरिक हुनु सकारात्मक…’ भन्दै दल विभाजनको निन्दा गरिएको छ ।समाचार साभार : जनआस्था साप्ताहिक

तपाइँको प्रतिक्रिया ।