क्यानले पहिलोपटक  खेलाडी वर्गीकरणसहितको अनुबन्ध गर्यो

Logo-of-Cricket-Association-Of-Nepal-CAN

कपन अनलाइन\२०७१, पुस २५

नेपाल क्रिकेट एशोसिएसन (क्यान) ले पहिलोपटक २२ जना खेलाडीहरूलाई समेटेर एकवर्षको लागि अनुबन्ध गरेको छ । छ–छ महिनामा रिभ्यु हुने गरी गरिएको अनुबन्धमा क, ख, ग र घ गरी खेलाडीहरूलाई चार श्रेणीमा विभाजन गरिएको छ । पुस १७ गतेदेखि लागु हुने गरी एकवर्षका लागि खेलाडी अनुबन्ध गरेको क्यानको निर्णयलाई राष्ट्रिय क्रिकेट टोलीले सिस्टमको सुरुवात भनेको छ ।

 

क्यानले गरेको निर्णयानुसार क, ख, ग र घ श्रेणीमा पर्ने खेलाडीहरूले क्रमशः ३५ हजार, २५ हजार, १० हजार र ५ हजार मासिक तलब पाउने व्यवस्था गरिएको छ । खेलाडीको वर्गीकरण गर्दा क, ख र ग श्रेणीमा छ—छ जना र घ श्रेणीमा चार जना राखिएको क्यानले बताएको छ ।

 

खेलाडीहरूलाई व्यावसायिक रुपमा अघि लैजान यो पहल गरिएको क्यानकी प्रमृुख कार्यकारी अधिकृत भावना घिमिरेले बताइन् । राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासनायकेले भने खेलाडीको अनुबन्धले उनीहरूप्रतिको परिवारको चिन्ता कम भएको बताए ।

 

३५ हजार मासिक तलब पाउने गरी क श्रेणीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, शरद भेषावकर, वसन्त रेग्मी र सुवास खकुरेल परेका छन् । सोमपाल कामी, सागर पुन, नरेश बुढाएर, भुवन कार्की, अमृत भण्डारी र विनोद भण्डारी ख श्रेणीमा परेका छन् । क्यानका प्रतिनिधीहरूले अवस्था अनुरुप क्रिकेटमा विशेष योगदान पु¥याउने अन्य केही खेलाडीलाई समेत अनुबन्ध गर्न सकिने बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।