लकडाउनको पहिलो दिन : चोक चोक प्रहरी परिचालन

कपन अनलाइन

काठमाडौं,बैशाख १६ काठमाडौं उपत्यकामा आज विहान ६ बजेबाट निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञा पालना गराउन प्रहरीहरुलाई चोकचोकमा परिचालन गरिएको छ ।काठमाडौं उपत्यकाका प्रमुख नाका र भित्री सडकहरुमा चेकजाँचका लागि ट्राफिक प्रहरीहरु पनि खटिएका छन् ।

 निषेधाज्ञासँगै भित्री सडकहरुमा तुलनात्मक रुपमा गाडीहरु कम चलेका छन् ।कोरोना संक्रमणको फैलावटलाई रोक्ने उद्देश्यले काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लामा आज विहान ६ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ ।

संघीय राजधानीमा कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेबाट शुरू भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहनेछ। निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका सडकहरु विहानैदेखि सुनसान देखिएका छन् ।

अत्यावश्यक सेवाका र संचालन अनुमति पाएका गाडीहरु फाट्टफुट्ट चलेका देखिन्छ । कोरोना संक्रमणको चेन ब्रेक गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय सार्वजनिक भएलगत्तै धेरै व्यक्तिहरु गाउँ फर्किएका छन् ।

फोटो : सरोज बस्नेत

 

तपाइँको प्रतिक्रिया ।