लक्ष्यहिन यात्रामा श्रीमतीको सुरक्षा : अमर प्रकाश तिवारी 

कपन अनलाइन

काठमाडौं ,बैशाख ११।

सुनमाया बादी (नाम फेरिएको) लाई गाउँकै मुखियाको गिद्धे नजर बाट बाँच्नु नै थियो । त्यसैले त उनी जहिले पनि आफ्नो लोग्ने सँग मात्र मेला पात जाने आउने गर्छिन। गाउँ भारीका पूर्ण र अर्ध वैश्यहरुले उनी माथी लागाउने कु दृष्टि त थियो नै त्यसमा पनि गाउँकै प्रमुख, वडा अध्यक्ष, मुखिया समेतहरुले सुनमायालाई गिद्धे दृष्टि राख्थे ।

हलक्क बढेकी १९ वर्षकी सुनमाया असाध्य राम्री थिई नै त्यसमा पनि मिजासिलो बानीले गाउँलेहरु भुतुक्कै हुन्थे । करिब ८/९ महिना आगाडि विवाह गरेर भित्रिएकी सुनमाया गाउँ घरको खासै मेलो पाउन सकेकी थिइन । तैपनि मेलापात जाँदा आउँदा कुकुरे बैस भएका युवाहरुले जिस्काउँदा बिचरा सुनामायाको बुढोलाई सहन नै गरो भएको थियो । त्यसमा पनि टुहुरो दलित गाउँबाट नै हेपिएको ठुलेकान्छो एलानी जग्गामा १कोठे बाँसको छाप्रोमा बस्दै आएको थियो ।

लहि लहिमा लागेर सुनमाया सँग विवाह गरेको ठुलेकान्छो विवाह गरेको केही हप्ता देखि नै आफ्नी श्रीमतीलाई कु दृष्टि राख्ने जमात देखेर दिक्क भएको थियो । अन्यौल भविष्य भएको, बेरोजगार, यसो मेलो पात गरेर जिविकार्जो गर्दै आएको ठुलेकान्छो एक्कासी घर गृहस्थी समाल्न परेपछि गारो भयो नै, त्यसमा पनि राम्री श्रीमतीलाई सुरक्षित गर्न आफूसँग भएको त्यही एक कोठे बाँसको छाप्रो सँग पनि डराउन थाल्यो । कुनै समय त्यही छाप्रो महल लाग्ने ठुलेकान्छोलाई अहिले विवहा गरेपछि असुरक्षित लाग्यो ।

नजीकै को प्रहरी चौकीका हवल्दार ले पनि आफ्नी श्रमतिलाई खाउँला झै हेरेको हिजो जस्तै लाग्छ । आफ्ना साथी भाइ सबै लाई संका गर्न थाल्छ, उ कसैलाई पनि विश्वास गर्दैन, जो पनि उ आफ्नो सुनमायालाई आक्रमण गर्न आएको महसुस गर्थ्यो। गाउँले कतै बाट आएर फेरि आक्रमण गरी मेरी प्यारीलाई ….. अहँ यहाँ बस्नु हुन्न । ऊ हरेक रात यसरी नै तड्पिन्छ । विवाह पश्चात कैयन रात उसको यस्तै त्रासमा बित्छ भने कतिपय रात सुत्न पनि सक्दैन ।

अब उ त्यहाँ नबस्ने नै निर्णय गर्छ । हाँ बसेर हुन्न, जोगिन गरो हुन्छ, फेरि काम पनि छैन यो अर्का घ’रा कति बस्नु, जाऊ स’रा उतै काम पनि पाइन्छ, आ… ।” बुढोको कुरोले सुनमायामा कौतुहलता छाउँछ, एक्कासी यस्तो कुरो सुनेर अचम्म पर्दै सोध्छे, हैन स’रा चाहिँ त्यस्ता मुन्छे हुन्न र भन्या । सुनमायाको निर्दोष प्रश्न को जवाफ त हुन्न उ सँग, तर पनि यहाँ भन्दा सुरक्षित हुने पक्का पक्की गर्छ ।

अर्ध चन्द्राकारको उज्यालो मध्यरातमा ती जोडी १/२ वटा पोको बोकी हस्याङ फस्याङ गर्दै कहले उकाली त कहिले ओराली दौडिन्छन् । बिना गन्तव्य, बिना लक्ष्य, न ठेगान छ, न कुनै टुंगो छ, हिडिरहन्छन् ।

यिनीहरू सुरक्षित बेनामें ठेगाना तिर गन्तव्य विहिन यात्रामा तेस्सै दौडिरहेका छन् । घना जंगल, मधुरो सुसाएको हावा र एकोहोरो कराउने गाइने किरोको आवाज मात्र सुने डरलाग्दो बाटोमा ती जोडी लम्किदै आगाडि बढेका थिए। छिटो छिटो हिडन न यो जंगल पार गरेपछि समतल बाटो आउँछ, उज्यालो पनि हुन्छ ।

अनि हामी स’रा पुग्छौ । ठुलेकान्छोको आवाज सँगै बिचरी सुनमाया बेतोडले दौडिन्छे । लामो स्वास फेर्दै सोध्छे हामी स’रा कहा बस्छौ, को छ हाम्रो, यो २ वटा पोकामा भएको सामानले हामीलाई पुग्छ । साच्चै के खान्छौ हामी? एकासी उ आफ्नो श्रीमतीले सोधेको प्रश्नको जवाफ खोज्छ । साच्चै कहाँ पो बस्ने हो, मेरो त कोही पनि चिनेको छैन, त्यहाँ । के खाने हो, मैले के खुवाउने यसलाई ।

हे भगवान, म के गर्दै छु, कहा जाँदै छु।ठुलेकान्छो अकमक्क पर्छ र पनि उ पाइला रोक्दैन । २०औं बर्ष बसेको स्थानमा असुरक्षित महसुस गरी त्यो जवान ठुलेकान्छो कहा चाहिँ सुरक्षित महसुस गरी यो मध्यरातमा भाग्दै गरेका छ, उ आफूसँग प्रश्न गर्छ ।

म कस्तो सुरक्षा खोज्दै छु, जुन ठाउँमा जन्मे, जुन ठाउँमा हुर्के, जुन संगतमा म रमाए, जुन संस्कार मैले सिकें, जुन थलो मेरो हो, गाउँका मुखिया, प्रमुख, वडा प्रतिनिधि सबै मेरा हुन । यो मेरो डर मात्र हो, कसैले पनि मेरो श्रीमतीलाई गिद्धे नजर लगाएको छैन, यो मेरो एक किसिमको भ्रम मात्र हो । हेर्नु या कुरो गर्नु को मतलब कु दृष्टि राख्नु सम्झनु मेरो भ्रम हो ।

वास्तवमा म या हामी त्यही सुरक्षित छौ, जहाँ २०औं बर्ष सुरक्षित भए जहाँ विवाह गरेको पनि ८/९ महिना सम्म हामी सुरक्षित नै थियौं नी । ऊ अनायसै अड्किन्छ, सुनमायालाई अंगालोमा बाधि सोध्छ हामी कहाँ जाँदै छौ, थाहा छ ? निःशब्द सुनमाया त्रासिद मुहार मा मन्द मुस्कान साहित सिर झुकाउँछे । सायद उसलाई पनि के थाहा र कहाँ जाने हो भन्ने। अन्यौल र व्यग्र ठुलेकान्छोले सुनमायालाई अंकमाल गरिनै रहेको हुन्छ । मन्द हावाले हल्का लहराइरहेको सुनमायाको कपाल यता उता फर फर गरिरहेको हुन्छ ।

त्यो हावा र कपालको मिश्रण कतै कुनै बेला त ठुलेकान्छोको जुँगा बन्न पुगेको हुन्छ। अनि उ छायाँमा हेर्दा ठ्याक्कै ठूलो र ठाडो जुँगा भएको मानव अनुहार देख्छ । त्यही छाया हेर्दा हेर्दै ऊ अचानक बलियो भएको महसुस गर्छ ।

कता बाट शरीरमा नयाँ ऊर्जा थपिएको जस्तो पाउँछ । नजानिँदो पाराले उ फेरि त्यो छायामा हेर्छ, अब उसलाई लाग्यो त्यो जंगबहादूरको स्वरुप हो । उसको विचार परिवर्तन हुन्छ । अचानक भन्छ हैन सुनमाया हामी फर्कौ, हामी त्यही १ कोठे बाँसको छाप्रोमा जाऊ । हामी त्यही सुरक्षित हुन्छौ ।

तपाइँको प्रतिक्रिया ।