गजेन्द्र र पुष्पा बने प्रथम किसुन जी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनको बिजेता

गजेन्द्र र पुष्पा बने प्रथम किसुन जी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनको बिजेता

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २१।
नेपाली सेनाका गजेन्द्र राई र एपीएफ क्लबकी पुष्पा भण्डारी प्रथम किसुन जी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनको बिजेता बनेका छन  ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशद्वारा आयोजित प्रतियोगिताको पुरुषमा गजेन्द्रले निर्धारित दूरी १ घण्टा ६ मिनेट ५१ सेकेन्डमा पूरा गरे । गजेन्द्रसहित शीर्ष पाँच स्थानमा सेनाकै खेलाडी रहेका थिए। १ घण्टा ७ मिनेट २० सेकेन्डमा खगेन्द्र भाट, १ घण्टा ९ मिनेट ३९ सेकेन्डमा रामजी बस्नेत, १ घण्टा १० मिनेट २९ सेकेन्डमा देवराज बस्नेत र १ घण्टा ११ मिनेट ४३ सेकेन्डमा जितेन्द्र अधिकारी दनुवारले क्रमशः दोश्रोदेखि पाँचौ स्थानमा दौड टुंगाए । शीर्ष तीन स्थानमा रहनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाए । चौथो र पाँचौले समान ५–५ हजार नगद पुरस्कार हासिल गरेका छन।


महिलामा बंगलादेशको ढाकामा भएको फुल म्याराथनमा स्वर्ण जित्दै महिलातर्फ इतिहास रचेकी पुष्पाले निर्धारित दूरी तय गर्न १ घण्टा २३ मिनेट ३७ सेकेन्ड समय खर्चिन् । सेनाकी पूर्णलक्ष्मी न्यौपाने १ घण्टा २८ मिनेट ४१ सेकेन्डमा दोश्रो, एपीएफकी आशा रावत १ घण्टा ३६ मिनेट ४९ सेकेन्डमा तेश्रो र काठमाडौंकी रोशना रिजाल १ घण्टा ५१ मिनेट २६ सेकेन्डमा चौथो भएका छन। महिलाले पनि पुरुष सरहनै नगद पुरस्कार जितेका छन  ।


विजेतालाई नेपाली कांग्रेसका नेता पूर्व मन्त्री पूर्णबहादुर खड्का, नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह, आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरेका थिए  । त्यसअघि प्रतियोगिताको सांसद् गगनकुमार थापाले उद्घाटन गरेका थिए । दौड गोल्फुटारबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी सोही स्थानमा आएर टुंगिएको थियो ।
समापनका अवसरमा ओलम्पियनत्रय एथलेटिक्सका बैकुण्ठ मानन्धर, जितबहादुर केसी र पुष्पराज ओझा तथा बक्सिङका सुरेश आले मगर, वरिष्ठ फोटो पत्रकार श्याम चित्रकार सम्मानित गरिएको थियो । उनीहरुलाई  दोसल्ला, कदरपत्र र नगद ५ हजारसहित सम्मान गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।