काठमाण्डौको जमिनमुनि पानी पुनर्भरणमा ध्यान दिउ : राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाण्डौको जमिनमुनि पानी पुनर्भरणमा ध्यान दिउ : राष्ट्रपति विद्यादेवी भण्डारी

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १९।

राष्ट्रपति विद्यादेवी भण्डारीले उपत्यकामा पानीको स्रोत प्रदुषित भएका बेला मेलम्चीको पानी वितरण भएपछि स्वच्छ खानेपानीको सेवा उपलब्ध भएको बताएकी छन् ।

मेलम्चीको पानी औपचारिक रुपमा वितरण शुरु गर्न आज खानेपानी मन्त्रालयले भृकुटमण्डपमा आयोजना गरेको कार्यक्रममा उनले तीन ढुङ्गेधाराबाट पानी खोली शुभारम्भ गरेकी हुन्। मेलम्चीको पानीले जमिनमुनिको पानी कम दोहन गर्नसमेत सहयोग मिलेको उनले बताइन् । मेलम्चीबाट आउने स्वच्छ पानीले उपत्यकावासीमा राहत मिलेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले पानीका स्रोत संरक्षणसँगै वायु प्रदुषण कम गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरिन् ।

“प्रधानमन्त्री भएका बेला कृष्णप्रसाद भट्टराईले सार्वजनिक प्रतिबद्धता जाहेर गरेपछि चर्चामा आएको मेलम्ची खानेपानी आयोजना वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा सम्पन्न भएको छ, पानी र जीवनबीच अभिन्न सम्बन्ध रहेकाले पहिलो चरणको मेलम्ची सम्पन्न हुँदा उपत्यकावासीलाई केही राहत भएको छ, दोस्रो चरणको काम पनि यथासम्भव छिटो सम्पन्न हुनुपर्छ”, उनले भनिन् ।

केही जनसङ्ख्या स्वच्छ खानेपानीको सेवाबाट अझै बञ्चित रहेकाले त्यसको व्यवस्थापनमा पनि सरोकार भएका निकायको ध्यान जानुपर्ने राष्ट्रपति भण्डारीको भनाइ थियो । मेलम्चीको पानी राजधानी आएसँगै जमिनमुनि पानी पुनर्भरणमा समेत ध्यान दिन पनि उनले सरोकार भएका निकायलाई निर्देशन दिइन्। पानीका विषयमा आवश्यक अध्ययन अनुसन्धान गर्न त्रिभुवन विश्वविद्यालयलगायत शैक्षिक संस्थालाई प्रोत्साहन गरिनुपर्ने राष्ट्रपति भण्डारीले बताइन् ।

तपाइँको प्रतिक्रिया ।